सचेतनामूलक कार्यक्रमदेखि गाँजा खेती फडानीसम्म

|

ताप्लेजुङ : प्रत्येक वर्षको जुन २६ का दिन मनाइने अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस ताप्लेजुङमा पनि सप्ताहव्यापी मनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको संयोजनमा बुधबार बसेको सर्वपक्षीय बैठकले दिवसलाई सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

प्रजिअ जिसीका अनुसार असार ५ गतेबाट सचेतनामूलक कार्यक्रम सुरु गरी मे २६ अर्थात असार १२ गते समापन गरिने छ। सचेतना कार्यक्रम अन्तर्गत एक सातासम्म ताप्लेजुङका तीनवटै एफ एम रेडियोमा लागुऔषध तस्कर नियन्त्रण, यसबाट हुन सक्ने खतरा, लागुऔषध सेवनका कारण मानिसको स्वास्थ्यमा तथा समाजमा पर्ने असर, लागुऔषधी तस्करी सम्बन्धमा कानुनी प्रक्रियालगायतका लागुऔषध नियन्त्रण तथा सचेतनामूलक कार्यक्रमको विषयमा केन्द्रित रहेर सम्बन्धित व्यक्ति तथा संस्थाहरूसँग अन्तर्क्रिया कार्यक्रम  गरिने बताइएको छ।

यसैबीच जिल्लामा रहेका प्रत्येक माध्यमिक स्तरका विद्यालयमा लागुऔषध नियन्त्रण तथा यसका कानुनी प्रक्रिया र असरका विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउने, सम्पूर्ण स्थानीय तहका जनप्रतिनीधिलाई आ–आफ्नो क्षेत्रमा लागुऔषधको विषयमा सचेतनामूलक कार्यक्रम गर्ने/गराउने, ग्रामीण क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वंसेविकाहरूलाई टोलटोलमा पठाइ लागुऔषधका विषयमा सचेतनामूलक जानकारी दिन लगाउनेलगायतका कार्यक्रम गरिने निर्णय भएको छ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरीले लागुऔषध नियन्त्रण र यसका असरका विषयमा पचार, पम्पप्लेट, पोस्टरलगायत समाग्रीहरू वितरण तथा प्रचार प्रसार गर्नुका साथै यस अभियानको क्रममा गाँजा खेती गरिएको ठाउँको पहिचान गरी सोही स्थानमा गई नष्ट गर्ने, असार ११ गते सदरमुकामस्थित विरेन्द्र चोकमा साँझ ६ बजेबाट सचेतनामूलक सन्देश दिने र असार १२ गते (जुन २६) का दिन अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा जिल्ला सदरमुकाममा सम्पूर्ण निजामती कर्मचारी, युवा र विद्यार्थीलगायतको उपस्थितिमा प्रभात फेरी गरी जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गरिने प्रचिअ जिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.