|

काठमाडौं : नेपाल पत्रकार महासंघले नेपाल टेलिभिजनमा १२ वर्षदेखि प्रसारण हुँदै आएको 'सीधा प्रश्न' कार्यक्रम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द गराइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई सम्पत्ति विवरणबारे सोधेको प्रश्नप्रति असन्तुष्ट भएर कार्यक्रम बन्द गराएको भन्दै त्यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, 'प्रश्न सोधेकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको ठहर छ। महासंघ सरकारको नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिबद्धता स्मरण गराउन चाहन्छ।'

यस्तो थियो कार्यक्रम:

महासंघले प्रश्न सोध्ने र आफ्नो कुरा राख्ने पाउने अधिकार नेपालको संविधानले नै सुनिश्चित गरेका स्मरण गराएको गराएको छ। विज्ञप्तिमा भनिएको छ, 'सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध नरहेको देखाउँछ।'

महासंघले उक्त कार्यक्रम तत्काल पुनः सूचारु गराउन पनि माग गरेको छ।

बाघ कराउनु र बाख्रो हराउनु सँगै परेको हो : महाप्रवन्धक

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले भने टेलिभिजनले उक्त कार्यक्रमका लागि समय उपलब्ध गराउन नसक्ने भएकाले रोक्नुपरेको जनाएका छन्।

महाप्रबन्धक रोकाले कार्यक्रम बन्द र मन्त्री बास्कोटाको अन्तर्वार्ता संयोगमात्र भएको बताए। उनले भने, 'बाघ कराउनु र बाख्रो हराउनुजस्तै भयो। कार्यक्रम बन्द गर्नुपर्ने अवस्था र सञ्चारमन्त्री गोकुल बास्कोटाको चर्चित अन्तर्वार्ता एकैचोटि पर्‍यो।'

उनले कार्यक्रम बन्द गर्नुको कारणबारे थाहाखबरसँग भने, 'हामीले विश्वकपका कारण तत्काल उक्त कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको हो। कार्यक्रम बन्द गरिएको चर्चा र हल्लापछि मन्त्रालयले नै चासो व्यक्त गरेको थियो। कार्यक्रम करारमा चलाइएको थियो। यो हट्नु वा निरन्तर गर्नु नेपाल टेलिभिजनको निर्णयको क्षेत्राधिकारको विषय हो।'

सामाजिक सञ्जालमा कार्यक्रमलाई लिएर भएका विरोधलाई उनले सामान्य भएको बताए। महाप्रबन्धक रोकाले भने, 'कार्यक्रमलाई लिएर भएका चासो र चर्चा सामान्य हुन्। तर पूर्वाग्रहका कारण बन्द गरिएको आक्षेप लगाउनु राम्रो होइन।'

महासंघको विज्ञप्तिको पूर्णपाठ:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.