मन्त्री नै तीन मिनेट ढिलो

|

हेटौँडा : प्रदेश ३ का प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले कृषि क्षेत्रमा कर लगाउन खोजेको भन्दै विरोध गरेका छन्।

प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउनेसम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने उल्लेख गरेको भन्दै उनीहरूले विरोध गरेका हुन्।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरूले कृषि क्षेत्रमा अनुदान र प्रोत्साहन गर्नुको सट्टा कर लगाउनेतर्फ प्रदेश सरकार लागेको भन्दै विरोध गरेका छन्।

प्रदेशसभा सदस्य प्रभात तामाङले कृषि आयमा कर लगाउन नहुने भन्दै यसले मूल्य बृद्धि गर्ने बताए। उनले कृषिमा कर लगाउँदा गरिब, किसानमाथि अन्याय हुने भन्दै यसबारे प्रदेश सरकारको ध्यानाकर्षण गराए।

प्रदेशसभा सदस्य रीना गुरुङले कृषिमा कर लगाउनु बेठीक भएको भन्दै यसलाई हटाउन माग गरिन्। उनले अहिलेसम्म कृषि क्षेत्रमा दिएको सुविधा नै अपुग भइरहेको अवस्थामा कर लगाउनु अनुपयुक्त हुने बताइन्।

प्रदेशसभा सदस्य सीता अधिकारीले कृषिमा कर लगाउने नभई विउविजन, कृषि औजारमा छुट दिनुपर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराइन्। प्रदेशसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले नयाँ विषय भएकाले कृषि करबारे धेरै चर्चा हुनुलाई स्वभाविक भएको बताए। उनले कृषकले कृषि उत्पादन विक्रि गर्दा वा व्यापारीले विक्रि गर्दा कर लगाउने यसबारे प्रदेश सरकार स्पष्ट हुनुपर्ने बताएका थिए।

प्रदेशसभामा पेस भएको विधेयकमा ‘कृषि आयमा कर लगाउन सकिनेछ’ भनिएको छ। यसको स्पष्टीकरणमा ‘कृषि आय भन्नाले धान, गहुँ, कोदो, फापर, मकै, फलफुल, तरकारी, आलु, मासुजन्य पर्दाथ, माछा, दुध, तेल्हन जस्ता अन्य खाद्य बस्तुको उत्पादनको विक्रिबाट हुने आयलाई सम्झनु पर्दछ’ भनिएको छ। नेपालको संविधान २०७२ को अनुसुचि ६ मा प्रदेशको अधिकारको सूचि अन्तरगत ‘कृषि आयमा कर’ को व्यवस्था गरिएको छ।

मन्त्री नै तीन मिनेट ढिलो

‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’ सैद्धान्तिक छलफलका लागि प्रदेशसभा बैठकमा प्रस्तुत गनुपर्ने मन्त्रीले प्रदेशसभा बैठकमा ढिलो भएपछि सभामुखसमेत अन्यौलमा परेका थिए।

प्रदेशसभा बुधबारको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विधेयक पेश गरेका थिए। उनले विधेयक पेश गरेपछि बैठक दिउँसो २:३० बजेसम्मका लागि स्थगित भएको थियो। दिउँसो २:३० बजेका लागि बोलाइएको बैठक दिउँसो २:३२ बजे सुरु भयो।

बैठक सुरु हुने बित्तिकै सभामुख सानुकुमार श्रेष्ठले विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्न ढुंगेललाई आग्रह गरे। तर मन्त्री ढुंगेल भने बाहिर क्यान्टिनमा थिए। त्यसपछि सभामुख अलमलमा परे भने प्रदेशसभा सदस्यहरू पनि एक अर्कामा मुखामुख गर्न थाले। लगत्तै प्रदेशसभा सचिवालयको सुझावपछि उनले ‘आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको सट्टामा’ भनेपछि २:३५ मा हतारहतार ढुंगेल प्रदेशसभा बैठकभित्र प्रवेश गरे र विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरे।

यसअघि, बैठकमा दुई प्रतिवेदन प्रस्तुत भएका थिए। बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश आकस्मिक कोष विधेयक र वित्तीय हस्तान्तरण सम्बन्धि विधेयक प्रतिवेदनसहित पेश गरेका हुन्।

विधेयक एक साताअघि दफावार छलफलका समितिमा पठाइएको थियो। छलफलपछि सभापति नेपालले प्रदेश सभा बैठकमा प्रतिवेदनसहित पेस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.