|

पर्वत : सेवाग्राहीबाट घुस लिएको अारोप लागेका शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राविधिकलाई बर्खास्त गरिएको छ। बर्खास्त हुने कर्मचारीमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेती रहेका छन्।

बर्खास्तमा परेका दुवैको करार सेवाको सम्झौता रद्द गरी छानविनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामकुमार श्रेष्ठले बताए।

धौलागिरी गाउँपालिका–३ दरको सूर्यज्योति आधारभुत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाहरुले जेठ ७ मा उजुरी दर्ता गराएका थिए। उजुरीमा उनीहरुले कक्षाकोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ घुस लिएको आरोप छ। 

आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको १९ लाख ५० हजार रुपैयाँ बजेटको तीन कोठे भवनको नाप चाँजका क्रममा ०७४ असोजमा २० हजार र २०७४/७५ मा ३१ लाख ५० हजार रुपैयाँ बजेटको तीन कोठे भवन योजना पारिदिने प्रलोभन देखाएर दुई लाख ५० हजार रुपैयाँ माग गरेको बताइएको छ। पहिलो किस्ता पेश्की निकालेपछि ०७४ मंसिर १३ मा इञ्जिनियर खनालले प्राविधिक उप्रेतीमार्फत ५० हजार रुपैयाँ लिएको आरोप लागेको छ। यस्तै, पुरानो योजनाको फरफारकका क्रममा थप ६३ हजार मागेका थिए।

उनीहरूले मागअनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भए पनि पछि बेरुजु देखिने डर देखाएर घुस दिन बाध्य बनाएको उजुरीमा उल्लेख छ। शिक्षामा परेको उजुरी र आरोपित कर्मचारीहरुले पेश गरेको स्पष्टीकरणसहित थप छानबिनका लागि अख्तियारमा पठाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए।

आरोपित इञ्जिनियर र प्राविधिकले भने भवन निर्माण समितिले सम्झौता र नक्साअनुसारको काम नगरेको पाइएपछि पुनः नक्सा बनाउदा परामर्शदाता कम्पनीलाई भुक्तानी दिने क्रममा घुस खाएको आरोप लगाएर आफूहरुलाई फसाइएको दावी गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.