|

काठमाडौं : मन्त्रालयगत विनियोजन गरिएको बजेटमा प्रतिनिधिसभामा भइरहेको छलफलमा सरकारमा रहेको दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले मन्त्रीहरूको व्यापक विरोध गरेका छन्।

नेकपाका सांसद प्रेमबहादुर आलेले डोटी जिल्लामा पहिले योजना हाल्छु भनेको र पछि गएर काटिएको भन्दै आपत्ति जनाए। उनले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आफ्नो जिल्ला कास्कीमा धेरै योजना हालेको तर डोटीमा एक पनि योजना नहालेको भन्दै विरोध गरेका छन्।

उनले आफूले खेलकुदमन्त्रीलाई भेटेर सात योजना बुझाएको तर मन्त्रीकै आग्रहमा पाँच योजना काटेर दुई योजना मात्रै कायम गर्दा पनि एकपनि योजना नपरेको भन्दै आपत्ति जनाएका हुन्। उनले आफूले जिल्लामा दुई योजना पर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको तर मन्त्रालयको विषयगत बजेट पुस्तिकामा भने एक पनि बजेट नपरेको भन्दै आपत्ति जनाए।

उनले प्रश्न गरे, 'मन्त्रीले यस्तो खालको हर्कत गर्न हुन्छ कि हुँदैन?' उनले थपे, 'माननीय मन्त्रीज्यूहरू, तपाई यस्तै यस्तै टाउकाहरू (आफ्नो छाउकोमा देखाउँदै) गनेर तपाईहरू जुन पदमा बस्नुभएको छ, जनताले हामीलाई निर्वाचित गराएको हुनाले त्यो पद तपाईले प्राप्त गर्नुभएको छ। त्यो तपाईले हेक्का राख्नुहोस्।'

मन्त्रीले सुरुमा नै डोटीमा आयोजना पर्दैन भनेको भए त्यस्तो नहुने आलेले बताए। उनले मन्त्रीलाई 'किन यस्तो गरेको?' भनेर सोध्दा अर्थमन्त्रीले काटेको भनेको तर आफ्नो जिल्लामा भने २४ योजना हालेको बताए। 'तपाईले सुरुमै हुन्न भन्नुभएको भए हुन्थ्यो, हुन्छ पनि भन्ने नराख्ने पनि?' उनले थपे, 'अर्थमन्त्रीलाई दोष दिने? डोटीमा कार्यक्रम नपर्दा अर्थमन्त्रीलाई दोष दिने आफ्नो जिल्ला कास्कीमा २४ योजना हाल्ने? लाज लाग्दैन तपाईंलाई?'

त्यस्तै उनले धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउन माग गर्दा त्यसको पनि सम्बोधन नभएकोमा आपत्ति जनाए। पर्यटनमन्त्री, राज्यमन्त्री, पर्यटन सचिव सबैलाई भन्दा कसैले पनि नटेरकोमा उनले आपत्ति जनाए।

उनले भने, 'पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई मैले भने र हुन्छ हुन्छ भन्नुभयो। एक कानले सुन्ने र अर्को कानले उडाउने? लाज लाग्छ मलाइ।'

बजेट विनियोजन सबैतिर नभएर एकै ठाउँमा भएको अर्को दृष्टान्त कर्णालीको प्रस्तुत गरेका थिए आलेले। उनले कर्णालीका लागि संघीय सरकारले ५७ योजना राखेको र त्यसमध्ये ४४ योजना डोल्पामा मात्रै राखेकोमा आपत्ति जनाए। उनले यसलाई जमिनदारी शैली भन्दै आपत्ति जनाएका थिए। उनले कर्मचरीलाई कमिशन वितरण गर्नमात्रै यसरी योजना वितरण गरिएकामा आपत्ति जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.