जर्मनी, ब्राजिल, अर्जेन्टिना, पोर्चुगल उपाधिका प्रमुख दाबेदार

|

काठमाडौं : बिहीबार मस्को लुजनिकी रंगशालामा हुने उद्घाटन समारोहपश्चात् आयोजक रुस र साउदी अरेबियाको खेलसँगै फिफा विश्वकप– २०१८ विधिवत रूपमा सुरु हुनेछ।

उद्घाटन समारोह र पहिलो खेल हुने लुजनिकी रंगशाला रुसको राष्ट्रिय रंगशाला हो। लुजनिकी ओलम्पिक परिसरमा अवस्थित उक्त रंगशालामा एकसाथ ८१ हजार दर्शकले खेल हेर्न सक्छन्। युरोपकै ठूलामध्ये एक उक्त रंगशालामा सन् १९८० को ओलम्पिकसमेत आयोजना गरिएको थियो। साथै सन् १९९९ को युइएफए कपको फाइनल तथा सन् २००८ को युइएफए च्याम्पियन्स लिगको फाइनल खेलसमेत त्यही रंगशालामा भएका थिए।

सन् २०१३ मा एथलेटिक्सको विश्व च्याम्पियनसीपसमेत आयोजना गरिएको उक्त रंगशालामै यो विश्वकपको फाइनलसमेत खेलाइनेछ। फिफा विश्वकपको यो २१औँ संस्करणमा सहभागी ३२ टोलीबीच ३२ दिनभित्र कुल ६४ खेल खेलाइनेछ, जसमा एक हजार ८०० माइलमा फैलिएका विभिन्न ११ शहरका १२ वटा रंगशालामा विश्वकपका खेलहरू हुनेछन्।

सन् २०१४ को विजेता जर्मनी यस पटक उपाधि दोहोर्‍याउने लक्ष्यसहित रुस पुगेको छ। जर्मनीले उक्त सफलता हात पारेको खण्डमा यो मुलुक सन् १९६२ यता ब्राजिलपछि लगातार उपाधि जित्ने पहिलो मुलुक बन्नेछ। उता, ब्राजिल पनि कीर्तिमानी छैटौँ पटक विश्वकप जित्ने अभियानमा छ। एक महिना लामो यस प्रतियोगिताले झन्डै १५ लाख रुसी नागरिक तथा विश्वभरका तीन अर्ब व्यक्तिलाई टेलिभिजन सेट अगाडि तान्ने अनुमान गरिएको छ।

कसले जित्ला विश्वकप?

विश्व विजेता जर्मनी, पाँच पटकको च्याम्पियन ब्राजिल, युरो– २०१६ को विजेता पोर्चुगल, २०१४ को उपविजेता अर्जेन्टिना, बेल्जियम, पोल्यान्ड तथा १९९८ को विजेता फ्रान्स यो विश्वकपमा वरियता पाउने आठ टोलीमा समावेश हुन्।

हुनत आयोजक रुस र सन् १९६६ को विजेता इंग्ल्यान्ड पनि छन् तर अहिले ती दुवै टोलीबाट उपाधिको आशा गरिएको छैन। आयोजक मुलुक रुस त यो विश्वकपमा भाग लिने टोलीमध्ये फिफा वरियतामा सबैभन्दा पुछारमा छ। तर २०१० को विजेता स्पेनले भने यो विश्वकपमा वरियता पाउन सकेन।

पछिल्ला चार आयोजनामा जर्मनी कम्तीमा सेमिफाइनलसम्म पुगेको छ। साथै युरोपेली छनोटमा शतप्रतिशत जीत हात पारेर रुसको यात्रा गर्ने एक मात्र टोली पनि जर्मनी नै हो। समूह एफमा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग रहेको जर्मनीले फेरि एक पटक विश्वकप जित्दैन भन्न सकिँदैन।

‘जर्मनीले अहिलेझैँ कहिल्यै यो उपाधिको चाहना गरेको थिएन’, प्रशिक्षक जोकिम लो भन्छन्, ‘हामी विश्व विजेता बन्न हरेक कुरा त्याग्न तयार छौँ।’ हालसम्मको हरेक विश्वकपमा सहभागिता जनाउने एक मात्र टोली ब्राजिलले सन् २००२ यता भने उपाधि जित्न सकेको छैन। साथै ब्राजिलले १९५८ यता युरोपेली भूमिमा सफलताको झण्डासमेत गाड्न सकेको छैन। तर अहिले ब्राजिलसँग विश्वका सबैभन्दा महँगा खेलाडी नेयमारको साथ छ, जो भाँचिएको खुट्टालाई ठीक पारेर मैदानमा उत्रिनेछन्।

स्पेनको टोलीमा च्याम्पियन्स लिग जित्ने रियल म्याड्रिडका केही खेलाडी छन्। आठ वर्षअघि विश्वकप र सन् २००८ र २०१२ मा युरो कपको सफलतामा थप एक उपाधि जोड्न उक्त मुलुक पनि सक्षम छ।

युरो– २०१६ मा विजेता बन्दै आत्मविश्वासी बनेको पोर्चुगलमा तथा उक्त टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो महान खेलाडीका रूपमा सबै ठूला उपाधि चुम्न चाहन्छन्। उता, लियोनल मेस्सीसमेत अर्जेन्टिनाका लागि विश्वकप जिताउने धुनमा छन्। उनले जीवनमा सँगालेको एक मात्र सपना पनि यही नै हो।

फ्रान्सले यस पटक युवा खेलाडी समावेश गरेर लोभलाग्दो टोली बनाएको छ। १९ वर्षीय फरवार्ड केलिन मबापेसँगै प्रिमियर लिगमा परिचित नाम बनिसकेका खेलाडीहरू टोटनह्यामका गोलरक्षक हुगो लोरिस, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा तथा चेल्सीका फरवार्ड ओलिभिर जिराउड छन्।

नवप्रवेशी टोली

हरेक चार वर्षमा आयोजना हुने विश्वकपमा यस पटक पनामा र आइसल्यान्डले पहिलो पटक सहभागिता जनाउँदै छन्। तीन लाख ३५ हजार जनसंख्या रहेको आइसल्यान्डले विश्वकप खेल्ने सबैभन्दा सानो मुलुकको कीर्तिमानीसमेत कायम गरेको छ।

कुनै ठूला प्रतियोगितामा पहिलो पटक छनोट हुँदा आइसल्यान्डले युरो– २०१६ मा क्वार्टरफाइनलसम्म स्थान बनाएको थियो। उक्त टोलीले फेरि एक पटक विपक्षीलाई आजित पार्ने खेल भने पस्कनेछ। विश्वकपमा आफ्नो यात्राको सुरुवात आइसल्यान्डले आगामी शनिबार २०१४ को उपविजेता अर्जेन्टिनासँग खेलेर गर्दै छ।

विश्वकपमा पहिलो पटक छनोट भएपछि पनामामा राष्ट्रिय बिदा दिइएको थियो। फिफा वरियतामा ५५औँ स्थानमा रहेको मध्य अमेरिकी मुलुक पनामाले टोलीलाई सशक्त बनाउन अनुभवी प्रशिक्षक हर्नान डेरियो गोमेजको साथ लिएको छ। गोमेजले सन् १९९८ मा आफ्नै मुलुक कोलम्बिया र २००२ मा इक्वेडरलाई विश्वकपमा डोर्‍याएका थिए। 

साथै विश्वकपमा लामो अनुपस्थितिपछि केही मुलुकले अहिले पुनरागमन पनि जनाएका छन्। सन् १९८२ पछि पेरु विश्वकपमा फर्किएको छ भने अफ्रिकी मुलुक इजिप्ट २८ तथा मोरोक्को २० वर्षपछि विश्वकप खेल्दै छन्।

यद्यपि, चार पटकको विजेता इटाली, दक्षिण अमेरिकी च्याम्पियन चिली तथा अफ्रिकी च्याम्पियन क्यामरुन यो विश्वकपबाहिर छन्। यसले विश्वकपको रौनकमा अवश्य कमी ल्याएको छ। यस्तै, २०१० को उपविजेता नेदरल्यान्डले पनि छनोट चरण पार गर्न सकेन। सन् १९८६ यता पहिलो पटक संयुक्त राज्य अमेरिकाले पनि यो विश्वकपमा खेल पस्कन पाउनेछैन।

रेफ्रीलाई भिएआरको सहयोग

यसै विश्वकपमा पहिलो पटक भिडियो असिटेन्ट रेफ्री (भिएआर)ले प्रवेश पाउँदै छ। खेललाई विवादरहित बनाउन यो प्रविधिको सहायताले महत्त्वपूर्ण निर्णयहरू गरिनेछन्। गोल, पेनाल्टी वा रेड कार्ड जस्ता विषयमा यो प्रविधिको सहयोग लिइनेछ। यस सिजनमा इंग्ल्यान्डका केही घरेलु खेलका साथै जर्मनी र इटालीमा समेत यो प्रविधिको परीक्षण गरिएको थियो।

‘रेफ्रीलाई अझै सही निर्णय गर्नका लागि हामी यो प्रविधिको सहयोग लिँदै छौँ। विश्वकपमा यो प्रविधिले केही राम्रो गर्ने नै छ’, फिफा अध्यक्ष जियानी इन्फान्टिनो भन्छन्, ‘यो विश्वकपमा सबै जना आफ्नो कोठामा बसेर फुटबल हेर्दैनन्, जसका कारण केही सेकेन्डभित्रै सही निर्णय गर्न सकियोस्। यो प्रविधिको प्रयोगपछि दर्शकले देखेको तर रेफ्रीले नदेखेको निर्णयबाट कोही निराश बन्नु नपरोस्।’ २०१६ को क्लब विश्वकपमा पहिलो पटक प्रयोग गरिएको भिएआर प्रविधि २०१७ को कन्फेडेरेसन कपमा पनि प्रयोग गरिएको थियो।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.