|

काठमाडौं : ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन क्षेत्रमा हेलिकोप्टरमार्फत् उद्धारकf क्रममा भएका तथा हुनेसक्ने अव्यावहारिक एवं अमर्यादित कार्यको छानविन गर्न बनेको कार्य दलको स्वागत गरेको छ। टानले बिहीबार विज्ञप्ति जारी गरी नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्य दललाई आवश्यक सहयोगका लागि तयार रहेको जनाएको छ।

टानका अध्यक्ष नवराज दाहालले जारी गरेको विज्ञप्तिमा गुणस्तरीय तथा जिम्मेवार पर्यटनबाट मात्रै राष्ट्रिय पर्यटनको विकास हुने भन्दै पर्यटकीय गतिविधिहरू नै राष्ट्रको समग्र गरिमा प्रतिबिम्बित गर्ने माध्यम भएकाले यसको प्राप्तिका लागि हर तरहको सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

विज्ञप्तिमा कार्यदलले सत्यतथ्य छानविन गर्नु अगावै केही संचार माध्यममा केही स्थापित ट्रेकिङ कम्पनीहरू र संस्थाहरूको नाम जोडेर प्रकाशित समाचारप्रति टानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 'छानविनबाट सत्यतथ्य आउनु अगावै यस्ता कपोलकल्पित, भ्रामक र कसैको चरित्रहत्या गर्ने किसिमले प्रकाशित समाचारको हामी घोर भर्त्सना गर्दछौँ', विज्ञप्तिमा भनिएको छ, 'गल्ती गर्नेलाई कारवाही गर्ने र मर्यादित व्यवसाय संचालन गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा बिना आधारमा प्रकाशित यस्ता समाचारप्रति संचार जगतलाई मर्यादित तथा संयमित भई सत्यतथ्य समाचार संकलनका लागि हार्दिक अनुरोध गर्दै सोसम्बन्धमा हाम्रो सदैव सहयोग रहने जानकारी गराउँदछौँ।'

मर्यादित,अनुशासित तथा गुणस्तरीय पर्यटनप्रति टान प्रतिबद्ध रहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनसम्बन्धी सचेततापूर्वक सकारात्मक सन्देश प्रवाह गर्न सबैमा अनुरोध पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.