|

दक्षिण अमेरिकी फुटबलमा उरुग्वे ब्राजिल र अर्जेन्टिनापछिकै सबैभन्दा सफल र बलियो टिम हो। यो त्यो टिम हो, जसले विश्वकप फुटबलको पहिलो उपाधि उचालेको थियो। अर्थात् सन् १९३० मा आफ्नै घरेलु मैदानमा छिमेकी राष्ट्र अर्जेन्टिनालाई पराजित गरी उरुग्वेले विश्वकप जितेको थियो। त्यसपछि उरुग्वेले दोस्रोचोटि विश्वकप जित्न ठ्याक्कै २० वर्ष पर्खिनुपर्‍यो। अर्थात् सन् १९५० सम्म। यस पटक उरुग्वे विजेता बन्दा उपविजेता छिमेकी ब्राजिल थियो।

आफ्नै आँगनमा ब्राजिलको सपना तुहिएको त्यो पहिलो घटना थियो। तपाईंले विश्व फुटबललाई नियालेर हेर्नुभएमा दक्षिण अमेरिकी राष्ट्रको ढलिमली पाउनुहुनेछ। उरुग्वे दक्षिण अमेरिकी राष्ट्र हो। फुटबलमा ‘हेभिवेट’ टिमहरूलाई पराजित गरी म्याचको परिणाम उल्ट्याउन सक्ने क्षमता राख्ने टिम। यसैले विपक्षी टिमहरू उरुग्वेविरुद्ध खेल्दा सतर्क हुन्छन्। जोगिएर खेल्छन्। गल्ती गरेर उरुग्वेलाई मौका नदिनका लागि सतर्क बन्छन्। यस पटक उरुग्वे विश्वकप जित्ने सम्भावित टिमको सूचीमा शीर्षतिर नपरे तापनि यसको क्षमता र कौशललाई कसैले आँखीओझेल गर्न सक्दैन।

अहिलेको उरुग्वेली टिममा लुइस स्वारेज, एडिसन कभानी र डिएगो गोडिन जस्ता विश्वस्तरका खेलाडी छन्। उनीहरू खेलेको क्लब म्याच हेर्नुभएको छ? यदि हेर्नुभएको छ भने स्वारेज र कभानीको गोल गर्ने क्षमता पक्कै देख्नुभएको छ। गोडिन एक प्रकारले ‘भित्ता’ जस्तो डिफेन्डर हुन्। आक्रामक डिफेन्डर, जसले आवश्यकीय समयमा गोल गर्न पनि पछि पर्दैनन्। १५ जून अर्थात् आज उरुग्वेले आत्मविश्वासी इजिप्टको सामना गर्नेछ। समूह ‘ए’को यो दोस्रो म्याच दुवै टिमको भने पहिलो म्याच हो। एक प्रकारले यो म्याच स्वारेज बनाम सलाह हुनेछ। (सलाहले उरुग्वेविरुद्ध खेल्ने प्रतिबद्धता जनाइसकेका छन्।)

निश्चय पनि यो म्याचको सम्भावित विजेता उरुग्वे हो। अनुभव कागज र प्रदर्शन सबैमा उरुग्वे इजिप्टभन्दा धेरै बलियो टिम हो। उरुग्वे एक खेलाडीमाथि निर्भर टिम होइन, जस्तो इजिप्टको प्रदर्शन सलाहमाथि निर्भर गर्नेछ। योभन्दा हेर्नलायकको कुरा यो म्याचमा स्वारेज र सलाहको प्रदर्शन हो। ३१ वर्षे यी उरुग्वेली स्ट्राइकर अहिलेका राम्रा स्ट्राइकरमध्ये एक हुन्। बार्सिलोनाका यी स्ट्राइकरले इजिप्टविरुद्ध पनि गजबकै प्रदर्शन गर्नेछन्, प्रशंसकहरूलाई आशा छ। यिनी जति उत्कृष्ट खेल्छन्, मैदानमा उति नै नराम्रो ‘व्यहोरा’ पनि देखाउँछन्। सोझै भन्नुपर्दा अहिलेकै सबैभन्दा विवादस्पद स्ट्राइकर हुन्, स्वारेज चाहे, त्यो इंग्लिस प्रिमियर लिगमा विपक्षी खेलाडीको कान टोकिदिएको अथवा सन् २०१४ को विश्वकपमा इटालियन डिफेन्डर चेलेन्नीको कुम टोकिदिएको घटना नै किन नहोस्। अथवा सन् २०१० को विश्वकपमा ‘डर्कहर्स’ घानाविरुद्ध ‘हाइभोल्टेज’ म्याचमा निश्चित गोललाई हातले रोकेको घटना नै होस्।

समूह ‘ए’मा उरुग्वे सबैभन्दा बलियो टिम हो। अघिल्लो चरणमा यो दक्षिण अमेरिकी टिम पुग्ने शत प्रतिशत सम्भावना छ। त्यसपछि इजिप्ट सम्भावना बलियो छ। यसैले आज खेलिने यो म्याच दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ। इजिप्टले उरुग्वेलाई बराबरीमा मात्र रोक्न सके रूस र साउदी अरबविरुद्ध म्याचअघि मनोवैज्ञानिक अग्रता प्राप्त गर्नेछ। यसका लागि निश्चय पनि इजिप्टेली डिफेन्डरहरूले स्वारेज र कभानीहरूलाई अंकुश लगाउन सक्नुपर्छ। यो उति सम्भव भने छैन किनभने दुवै स्ट्राइकर आक्रामक छन्। गोल गर्न पोख्त छन्। हतपत्त मौका नगुमाउने स्ट्राइकर हुन्, दुवै। सबैभन्दा बेसी अहिले दुवै उच्च लयमा छन्। यसैले उरुग्वेली आक्रमणलाई रोक्न हेक्टर कुपरले ४-४-२ अथवा ४-३-२ को रणनीति अपनाउन सक्छन्।

यो रणनीति अपनाएमा स्वारेज-कभानीहरूलाई धेरै हदसम्म अंकुश लगाउन सकिन्छ, यो कुरा इजिप्टका प्रशिक्षक कुपरले भन्दा अरू कसले पो राम्ररी बुझ्न सक्ला? किनभने यस पटक उनीसामु इतिहास सुधार्ने चुनौती छ। यसको ठीक विपरीत उरुग्वेसामु उस्तो चुनौती छैन। उरुग्वेका लागि आजको म्याचमा चुनौती भनेकै सलाह हुन्, जो घाइते छन्। निश्चय पनि जोगिएर खेल्नेछन्। पहिलो म्याचमै भए/नभएको ऊर्जा खर्चिएर थला पर्नु भनेको टिमकै लागि नोक्सानदायी हुनेछ। उनी बुझ्छन्, ‘पहाड’ (उरुग्वे)लाई रोक्न सके मात्र पनि आफू समान ‘मैदान’ (रूस र साउदी अरब)विरुद्धको खेल केही सहज हुनेछ। रूस र साउदी अरबलाई जित्नु भनेको इजिप्ट इतिहास सुधारेर अघिल्लो चरणमा पुग्नु हो। यसका लागि सलाहहरूले घुँडा धसेर खेल्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.