|

दमक (झापा) : झापाको कमल गाउँपालिका–५ (साविक लखनपुर–१) मा निर्माणाधीन आदिवासी रंगशालाको नाम अझै पनि नस्वीकारिएको भन्दै स्थानीय समितिले आपत्ती जनाएको छ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका कार्यक्रम समेटिएको रातो कितावमा लखनपुरमा मदन भण्डारी रंगशालाका नाममा दुर्इ करोड रुपैयाँ विनियोजन गरिएको तर आदिवासी रंगशालाको नाम नै उल्लेख नगरिएको भन्दै स्थानीय समितिले आपत्ती जनाएको हो।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले शुक्रबार दमकमा पत्रकार सम्मेलन गर्दै सरकारको यो कदमले आदिवासी जनजातिहरू प्रति अपमान गरिएको जनाएको हो। समितिका अध्यक्ष हुकुमसिंह राईले आफ्ना पुर्खाहरूको चिहान भत्काएर रंगाशाला निर्माण गर्ने र त्यसको नाम आदिवासी रंगशाला राख्ने सहमतिका आधारमा निर्माण भई रहेको रंगशालाको नाम पटकपटक फेर्ने प्रयास गरिएको भन्दै आक्रोश पोखे। २०६६ साल पुष १  गते सो स्थानमा रहेका ७४५ चिहान भत्काएर रंगशाला निर्माण गर्ने र चिहान भत्काइएकाहरूको सम्झनामा रंगशालाको नाम आदिवासी रंगशाला राख्ने सहमति भएको उनले बताए।

०६७/६८ मा आदिवासी रंगशालाकै नाममा एक करोड रुपैयाँ सरकारबाट विनियोजन भएको र तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले सोहि नाममा रंगशाला निर्माणको शिलन्यास गरे पनि झापा क्षेत्र नं.५ का संसद तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा नाम फेर्ने प्रयास भइरहेको उनले दावी गरे। जुन मतदाताको मतबाट निर्वाचित भए तिनै मतदाताको मतलाई अपमान नगर्न आग्रह गर्दै उनले भने, ‘यदि त्रुटिवस रंगशालाको नाम मदन भण्डारी रंगशाला उल्लेख भएको भए त्यसलाई सच्याएर आदिवासी रंगशालानै कायम गरिनु पर्छ, बाँकी सबै विकल्पमा हामी छलफल गर्न तयार छौँ।’

पत्रकार सम्मेलनमा समितिका महासचिव दिपेनवाला राईले नाम फेर्ने पटकपटक प्रयास गरेर यहाँका आदिवासीहरूलाई विकास विरोधीको रूपमा दर्ज गर्न खोजिएको भन्दै नाम फेर्ने योजना कुनै हालतमा सफल हुन नदिने दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.