|

पर्वत : स्थानीय नागरिकको पहलमा पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङमा प्रहरी चौकी स्थापना हुने भएको छ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको दुर्लुङकोटमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा गर्न तथा स्थानीय रूपमा गैरकानुनी र अपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीयवासीकै सक्रियतामा प्रहरी चौकी स्थापना गर्न थालिएको प्रहरी चौकी निर्माण समितिका अध्यक्ष विकास सुनारले जानकारी दिए।

कुश्मा नगरपालिका-३ को एक लाख रुपैयाँ आर्थिक सहयोगमा चौकीका लागि चार कोठे भवन निर्माणको काम सुरु भएको छ। भवन निर्माणका लागि १२ लाख रुपैयाँ आवश्यक पर्ने भएकोले केही रकम कुश्मा नगरपालिकाले बिनियोजन गर्ने भएको छ भने अपुग रकम स्थानीय युवा क्लव, बन उपभोक्त समूह र महिला समूहले चन्दा संकलन गरी उठाउने भएका छन। चौकीको निर्माणकार्य आगामी दशैंसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ।

चौकीको भवन निर्माण पूरा भएपछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको दरबन्दी कायम गरेर दुर्लुङकोटमा प्रहरी परिचालन गरिने पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए।

प्रहरी चौकीबाट कुश्मा नगरपालिकाको वडा २ र ३, मोदी गाउँपालिकाको वडा-४ र जलजला गाउँपालिकाको वडा- ८ का बासिन्दाहरू लाभान्वित हुने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.