|

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उपभोक्तामाथि खेलवाड गरेर ठगी गर्नेहरू जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याउने बताएका छन्।

बुधबार मन्त्रालयको निर्देशनमा उद्योग वाणिज्य तथा आपूर्ति विभागले बजार अनुगमन गरी केही व्यापारीलाई समेत नियन्त्रणमा लिएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले उपभोक्ता ठगी गर्नेहरू सबैलाई कारवाहीको दायरामा ल्याइने बताएका हुन्।

जनताप्रति उत्तरदायी सरकार भएकाले जनतालाई अहित हुने काम कहीँकतैबाट हुन नदिने भन्दै उनले ठूलाठूला सपिङ महलमा पनि अनुगमन गरिने र त्रुटी फेला परे अपराधको प्रकृति हेरेर कारवाही गरिने बताए। विभागले व्यापारीहरू पक्राउ गरेर ल्याएपछि त्यसबारे बुझ्न विभाग पुगेका मन्त्री आफैँ पनि ठूला सपिङ महलमा अनुगमन नभएको प्रति असन्तुष्ठ देखिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार विभागबाट खटिएको विशेष अनुगमन टोलीले उपत्यकाका काठमाडौँ र ललितपुरका २५ वटा ठूला साना थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा मूल्य सूची नभएको , सामानमा अधिकतम खुद्रा मूल्य उल्लेख नभएको र ठूलो मात्रामा म्याद गुज्रेका सामान फेला परेपछि टोलीले बालकुमारीका तीन ठूला गोदाममा सिलबन्दी गरी संञ्चालकलाई नियन्त्रणमा लिएको छ।

बालकुमारीस्थित बंगालामुखी ट्रेडर्स, तिमिल्सिना किराना खाद्य स्टोर, पञ्च स्टोरलाई सिल गरि सञ्चालकलाई  नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

टोलीले भाट भटेनी सुपर मार्केट कलंकी, पञ्चस्टोर बालकुमारी, देव स्टोर घट्टे कुलो, शान्ति नगर सपिङ सेन्टर, कार्की स्टोर जोरपाटी, शिव ज्योति ट्रेडर्स कालिमाटीलगायत २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो।

काठमाडौंका चार र ललितपुरका तीन गरी सातवटा पसलका संञ्चालकलाई थप अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला प्रहरीमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.