|

चितवन : दुर्लभ एकसिंगे गैंडा र पाटे बाघ हेर्न पाउँदा जो कसैलाई रमाइलो लाग्छ। विदेशी पर्यटकहरु बाघ, गैंडा अवलोकनकै लागि चितवनसम्म आउँछन्। नेपालको तेस्रो पर्यटकीय गन्तव्य पनि हो चितवन। वन्यजन्तु पर्यटनका लागि चितवन विश्वमै प्रख्यात छ। 

नेपालमा वन्यजन्तुको उत्कृष्ट वासस्थान चितवन राष्ट्रिय निकुञ्ज भएकाले यसको मध्यवर्ती क्षेत्रमा राति बस्न मिल्ने मचान र वन्यजन्तु अवलोकनका लागि महत्त्वपूर्ण क्षेत्र भ्यू टावर बनाइएको छ। यहाँको विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी मचान बनेका छन्। मचानमा एक त पर्यटक बस्न लालायित हुन्छन् भने अर्काे दुर्लभ वन्यजन्तु अवलोकन गर्न सकिन्छ।

पर्यटक आकर्षित गराउन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा पनि आकर्षक भ्यू टावर र मचान निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए। दुई वटा भ्यू टावरको भने हालसालै निर्माण सम्पन्न भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए। उनका अनुसार यसअघि बनेका दुई वटा मचानमा पर्यटकहरु बस्दै आएका छन्।

यस्तै, हेलिप्याड चौरमा एउटा र खत्री घाटमा अर्काे टावर निर्माण भएको छ। यसअघि बनेका दुई वटा मचानमा पर्यटकहरु बस्दै आएका छन्। अन्य क्षेत्रमा थप दुई वटा मचान निर्माणाधीन अवस्थामा छन्। यो दुईवटा क्षेत्र बाघ र गैंडा अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिन्छ।

केही महिनाअघि एक जना खत्री थरका व्यक्तिलाई बाघले आक्रमण गरेकाले सोही कारण यसको नाम खत्रीघाट राखिएको हो। बाघको बासस्थान राम्रो रहेकाले सोही क्षेत्रमा टावर बनाइएको हो। वन्जयन्तुको आक्रमणबाट जोगिन समेत यस्ता टावर र मचान महत्त्वपूर्ण मानिन्छन्। मचान र टावरका लागि अावश्यक काठ चितवन निकुञ्जबाट उपलव्ध भएको र अन्य सामग्री खरिद गर्न गरी करिब ३ लाख लागतमा भ्यू टावर निर्माण गरिएको हो।

टावरबाट आकर्षक वनको दृष्यावलोकन गर्न सकिन्छ भने वनमा चर्न आएका गैंडा, चित्तल, मृगहरु देख्न सकिन्छ। पाटेबाघ, भालु, तथा मयुर नाचेको दृष्यले टावरमा बस्ने पर्यटकलाई लोभ्याउँछ। मुख्यगरी पर्यापर्यटन वृद्धिका लागि भ्यू टावर र मचान बनाइएको हो। यसले गर्दा यहाँ पछिल्लो समयमा पर्यटकहरुको चहलपहल बढेको स्थानीय संरक्षणकर्मी तथा बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना बताउँछन्।

अहिले कुमरोजमा एउटा काठ र एउटा कंक्रिटको मचान निर्माणको काम समेत शुरु भएको स्थानीय ईश्वरी पाठकले बताए। यहाँ तयार भएका दुई वटा मचानमा १६ जना पर्यटक बस्न सक्ने क्षमता छ। मचानमा विदेशी पर्यटकलाई एक हजार र नेपालीलाई ५०० रुपैयाँ शुल्क लाग्छ। यहाँ हात्त सफारी, जिप सफारी, डुंगा सफारी गर्न पाइन्छ।

मचानमा बस्न मात्रै वार्षिक करिब एक हजारभन्दा बढी पर्यटक आउँछन्। कुमरोजमा घुम्ने पर्यटक भने करिब एक लाख रहेको स्थानिय भरतप्रसाद नेपाले जानकारी दिए। पर्यापर्यटनबाट झण्डै ५० देख ६० लाख आम्दानी हुने गरेको उनको भनाइ छ। 

यसबाट स्थानीय आयआर्जन, मेस जाली निर्माण, मानव सुरक्षा, वन्यजन्तु संरक्षण, घाँसे मैदान व्यवस्थापन, बाटो निर्माण, स्कुल विद्यालय पुल मर्मतमा खर्च गरिने गरिएको छ। खैरहनीको पर्यापर्यटन विकासका लागि खैरहनी नगरपालिकाले समेत आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख लालमणि चौधरीको भनाइ छ। 

उनका अनुसार कुमरोज, कठार, कंकालीलाई पर्यटनसँग जोड्न झण्डै डेढ करोड रुपैयाँको कार्यक्रम सञ्चालन गरिएको छ। सौराहाबाट सुरु भएको जिप सफारी कुमरोज कठार हुँदै राप्ती नगरपालिकाको लोथरसम्म लैजाने योजना अघि सारिएको छ। चितवन निकुञ्जले पनि पर्यापर्यटनसँग संरक्षण जोड्न सके संरक्षण कार्य प्रभावकारी हुने भएकाले यसतर्फ ध्यान केन्द्रित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.