|

धनगढी : प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरु गरेको गरेको ‘हेलो सीएम’ कार्यक्रमको एक महिना पूरा भएको छ। एक महिनामा करिब १००  उजुरी दर्ता भएका छन्। 

भ्रष्टाचार ढिलासुस्ती, लापरबाही असामाजिक क्रियाकलापको विषयमा बढी उजुरी परेका छन्। ९८ उजुरीमध्ये अधिकांश समाधानको प्रक्रियामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बिसनसिंह थापाले बताए। ‘कतिपय समस्या मुख्यमन्त्री कार्यालयले नै हल गर्न नसक्ने अवस्था छ',उनले भने, 'ती समस्याबारे सम्बन्धित कार्यालय र मन्त्रालयमा जानकारी गराइएको छ। समाधान हुँदैछन्’, थापाले भने।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका सबैभन्दा उजुरी सडक पूर्वाधार र विद्युत्सम्बन्धी छन्। विद्युतबारेका २३ र त्यति नै संख्यामा सडक पूर्वाधारसम्बन्धी उजुरी दर्ता भएका छन्। 

हेलो सीएममासडक निमार्णमा लापरबाही, अनियमितितता, गुणस्तहीन काम भएको, सडक निर्माण अलपत्र परेको जस्ता उजुरीहरू बढी छन्। प्रदेश राजधानीकै ट्राफिक समस्या, सुरक्षा चुनौती, अनियमितता र भष्ट्रचार नेपाल–भारत सीमा समस्याबारे पनि गुनासो आएका छन्।

तर अधिकांश गुनासो सम्बोधन हुन सकेको छैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समस्या समाधानको प्रकृयामा रहेको दाबी गरेको छ। ‘चार घण्टादेखि एक साता सम्ममा समस्या समाधान गर्ने गरी हेलो सीएम कार्यक्रम ल्याइएको हो', मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीप कँडेलले भने, 'केही टेलिफोनबाटै समाधान भएका छन्, केही समाधानको प्रकृयामा छन्।’

मुख्यमन्त्री कार्यालयमा दर्ता भएका गुनासाको ठोस समाधान नभएपनि सर्वसाधरणहरु भने कार्यक्रमले परिवर्तन ल्याउने अपेक्षा रहेको बताउँछन्। ‘पहिले सिंहदरबार टाढा थियो, अहिले नजिकै आएको छ, हामीलाई गुनासो राख्न सहज भएको छ’, धनगढी उपमहानगरपालिका–३ का खडक चन्दले भने। गुनासो सुन्ने मात्र नभइ समस्या समाधानका लागि पनि सरकार गम्भीर बन्नुपर्ने उनले बताए।

प्रदेश सरकार गठन भएको तीन महिना पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आम नागरिकले गुनासा तथा सुझाव दिन जेठ ७ गते देखि १६६०–९१५२७२३ नम्बरको पैसा नलाग्ने (टोलफ्री) नम्बर सञ्चालन ल्याएको हो।

प्रत्येक दिन  बिहान ७ देखि साँझ ७ बजेसम्म गुनासो टिपोट गर्ने व्यवस्था मिलाइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.