जाजरकोट : कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ। बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेका हुन्।
गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि शुद्ध तोरीको तेल पाउन समस्या परेको उनको भनाइ छ। पहिले पहिले टोलपिच्छे काठेकोल हुने र जताततै शुद्ध तोरीको तेल पाइने गरे पनि अहिले गाउँबाट काठेकोल हराउँदै गएपछि समस्या परेको हो। उनले भने, ‘पहिले टोलटोलमा ओखल र काठेकोल पाइन्थे, जताततै शुद्ध तोरीको तेल पाइन्थ्यो। तर अहिले यत्रो गाउँपालिकाभरि एक दुईटा मात्र कोल छन्।’
कुसे मान्यजुरका उज्ज्वल रोकाय पनि गाउँमा आफ्नो घरबाहेक अन्य स्थानमा काठका कोल नभएको र अन्य स्थानीयवासी मिलतिर तेल पेल्न जाने गरेको बताउँछन्। खानका लागि मात्र नभई स्वास्थ्यका लागि समेत काठेकोलमा पेलेको तेल उपयुक्त हुने भए पनि स्थानीयवासी सजिलोका लागि मिलमा गएर तेल पेल्ने गरेका छन्। उनका अनुसार काठेकोलमा तेल पेल्न झन्झट हुने भएकाले सबैले कोल छाड्दै गएका हुन्।
स्थानीय पहिचान र परम्पराका रूपमा रहेका पुराना काठेकोल, पानी घट्ट र ओखलमा पिसिएका खाद्यान्न स्वस्थकर हुने भए पनि सरोकारवाला र युवा पुस्ताको बेवास्ताका कारण हराउँदै गएको छ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आगामी वर्षदेखि आफ्नो गाउँपालिकाभित्र परम्परागतरूपमा चल्ने पानीघट्ट, काठेकोल र मुसल आदिलाई जस्ताको तस्तै सञ्चालन हुने गरी योजना बनाउने बताए। गाउँ समाजको पहिचानका रूपमा रहेका ती साधनलाई स्थानीयवासीकै सक्रियतामा संंरक्षण गर्ने अवस्थामा ल्याउन आफूले विशेष पहल गर्ने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।