|

दमक (झापा) : ऋण गरेर खेती गरी उत्पादन गरेका कृषि उपज नबिकेपछि झापाका किसानको थाप्लोमा ऋणको भार थपिन थालेको छ। अहिले उत्पादन भएको चैते धान बिक्री नभएर किसानको बिजोग छ। यस्तै, दूधले समेत बजार नपाएपछि किसानलाई ऋणको भार झन् थपिएको छ। चालम मिल तथा धान व्यवसायीले चैते धान खरिद गर्न छोडेपछि किसानको लगानी डुब्ने अवस्थामा पुगेको हो।

कमल गाउँपालिका–६ का किसान खेम आचार्यले भने, ‘शुरु शुरुमा त धानको अलिअलि दाम दिँदै थिए, अहिले त किन्न समेत छोडेका छन्।’ धान नबिकेपछि ऋण गरेर मल तथा बीउमा गरेको खर्च उठाउन समेत हम्मे परेको उनको गुनासो छ। एकातर्फ खेती गर्ने मजदुरको अभाव उच्च छ भने ट्याक्टरलगायतका कृषि औजार र उपकरणको प्रयोग पनि महँगो बन्दै गएको छ।

विभिन्न समूह तथा सहकारीहरुबाट ऋण लिएर मल, बीउ, ट्याक्टरलगायतको लागत तिरे पनि धानले मूल्य नपाएपछि त्यही ऋण तिर्न पनि कठिन हुँदै गएको किसानहरुको गुनासो छ। चैते धान उत्पादन भए पनि बिक्री नभएपछि त्यसै थन्क्याएको किसान गोविन्द खड्का बताए। ‘यो धान अहिले बिकेन, मंसिरे धान जस्तो भकारीमा राख्न पनि सकिँदैन,’ उनले दुखेसो पोखे, ‘अब के गर्ने भन्ने पीर छ।’

चैते धान झारी नसक्दै अहिले किसानलाई मंसिरे धान रोप्न चटारो छ। खेतीमा ट्याक्टरको प्रयोग गरेर खेती गर्ने किसानहरुको संख्या बढ्दो छ। तर धान, दूधजस्ता कृषि उपजले बजार नपाउँदा खेती लगाउँदाको ऋण समेत तिर्न कठिन भएको कमल गाउँपालिकाका किसान कृष्ण गौतमले बताए।

दूध पनि बिक्दैन

गाई भैंसी किनेर दूध उत्पादन गर्दै आएका किसान दूध बिक्न छोडेपछि चिन्तामा छन्। ऋण गरेर व्यावसायिक पशुपालन थालेका किसान दूधले मूल्य नपाउँदा आजित बनेका छन्।

सरकारी निकायहरूले व्यावसायिक पशुपालन गर्न उक्साउने तर दूधको बजार व्यवस्थापन गर्न नसक्ने अवस्थाले किसान अझै मर्कामा परेको किसानहरुको गुनासो छ। ‘बिहानको दूध त जसो तसो बेचिँदैछ, साँझको दूध किन्न कसैले मान्दैनन्,’ कमल–६ कै युवा किसान मदन आचार्य भन्छन्, ‘यस्तो पाराले गाई पालनमा गरेको लगानी कसरी उठाउनु?’ युवालाई आत्मनिर्भर बन्न स्वदेशमै खेती र पशुपालन गरौं भन्नेहरुले कृषि उपजको बजारको पनि सनुनिश्चिता गर्न सक्नुपर्ने उनको सुझाव छ।

भुसले पनि पाएन बजार

धान मात्रै होइन, चामल कुटाउँदा निस्किएको भुस समेत बिक्न छोडेको छ। व्यावसायिक रूपमा बंगुरपालन फस्टाएको समयमा धानको भुस समेत बिक्री हुने गरेको थियो। तर, केही वर्षयता बंगुर बिक्रीमा समस्या भएपछि किसान त्यसको विकल्पमा लागेका छन्। जसका कारण धानको भुस बिक्री हुन छोडेको मिल सञ्चालकहरु बताउँछन्। 

झापाको गौरीगञ्ज गाउँपालिका–१ का साना मिल सञ्चालक कृष्ण पौडेलले किसानहरु बंगुर पालनबाट बिस्थापित भएसँगै धानको भुस समेत बिक्न छोडेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.