|

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गीत गजल एल्बम ‘प्रणय’का साथै ‘अतिरिक्त’ उपन्यासको विमोचन गरेका छन्। काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले कला संस्कृतिको जगेर्ना गरे मात्र राष्ट्र बन्ने बताउँदै संगीतको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्नेमा जोड दिए।

‘संगीतकार र गीतकारहरूमा समाज रूपान्तरण गर्ने आक्रमणकारी तत्व हुन्छ। यो तत्वले सबैलाई एक ठाउँमा उभ्याउन सक्छ', उनले भने, 'गीतमा हिमाल, तराई र पहाड सबै नाच्छन् त्यसैले गीत संगीत भनेको अनेकतामा एकता ल्याउने तागत हुन्छ।'

सञ्चारमन्त्री बाँस्कोटाले कला संगीत र साहित्य क्षेत्रले सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। गीत संगीत भनेको मुलुक र जनतालाई सन्देश दिने खालको पनि हुनुपर्नेमा उनको भनाइ थियो।

गीत गजल एल्बम ‘प्रणय’मा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’को एकल संगीत तथा डा. डीआर उपाध्यायको एकल रचना रहेको छ। उपन्यासकार तथा लेखक डा. डीआर उपाध्यायको ‘अतिरिक्त’ नामक उपन्यास सातौँ उपन्यास हो। 

कार्यक्रममा गायक अधिकारीले गीत गजल एल्बम ‘प्रणय’ आफूले निकै मिहिनेत गरेर ल्याएको बताउँदै आफूले संगीत पारखीका लागि नयाँ खुराक पस्किएको बताए। हालसम्म आधुनिक गीत गजल, भजन तथा राष्ट्रिय भावका ३० भन्दा बढि गीतमा स्वर दिएका अधिकारीले ७० भन्दा बढीमा संगीत दिइसकेका छन्।

पछिल्लो समय आफ्ना गीतसंगीतबाट दर्शक र श्रोताहरूको मन जित्न सफल गायक अधिकारीले निरन्तर लागिरहने हो र धैर्य गर्ने हो भने संगीत क्षेत्रमा लगेर बाच्न सकिने बताए। दाङ गोग्लीका अधिकारी विगत १५ वर्षदेखि काठमाडौंमा संगीत क्षेत्रमा साधनारत छन्।

२०५८ सालदेखि संगीतको औपचारिक शिक्षा सुरु गरेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट शास्त्रीय संगीतअन्तर्गत गायन विधामा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। उनले हालसम्म विभिन्न गायकको स्वर रहेको १० वटा एल्बममा स्वरसमेत दिएका छन्।

गीत गजल एल्बम ‘प्रणय’मा जम्मा ६ वटा गीत छन्, सबै गीतमा अधिकारीको संगीत रहेको छ। आऊ न आऊ आफ्नो छायाले, चौबन्दी चोलीमालगायतका गीतमा नेपाली गीत संगीतका दिग्गज गायक गायिका सत्यराज आर्चाय, स्वरूपराज आर्चाय, प्रमोद खरेल, मेलिना राई, सुरेश लामा, मिलन अमात्य, चन्द्र काफ्ले र सागर अधिकारी ‘शरद’को स्वर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.