|

सुर्खेत : कर्णाली प्रदेशसभाका सदस्य गोपाल शर्माले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा भएपछि कर्णाली प्रदेशको नेकपाको संसदीय दल अस्तव्यस्त भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्।

नेकपाले कर्णाली प्रदेशमा संसदीय दलको नेता चुन्नको लागि केन्द्र पार्टीको निर्णय पर्खेर बसेको शर्माले तर्क गरे। उनले एक थरीले संसदीय दलको नेता र मुख्यमन्त्री फरक फरक हुनुपर्ने र अर्को थरीले संसदीय दलको नेता र मुख्यमन्त्री एउटा नै भएर स्थायी सरकार संचालन बनाउनु पर्ने धारणा आएको बताए।

संसदीय दलको नेता चयन नहुँदा प्रदेश सभाका विषयगत समितिहरू पनि निष्कृय जस्तै बनेको शर्माको भनाई छ। ‘संसदमा सत्ताधारी दल नेकपा कै संसदीय दल अस्तव्यत हुँदा संसदमा पनि प्रभाव परेको छ’, उनले भने, ‘नेकपा भर्खर नै गठन भएको र प्रदेश र जिल्लास्तरमा एकता नभएकाले पनि कसको जिम्मा के हुने भन्ने कुरा टुङ्गो नलागेकाले पनि समस्या भएको छ।’

जिम्मेवारी नतोकिदा पोषाकदेखि संसदहरूको भूमिकामा पनि अन्यौलता भएको सांसद शर्माले बताए। उनले भने, ‘जिम्मा नतोकिएपछि कसले के गर्ने, बैठक कसले बोलाउने, अन्यौलता त त्यसै भइहाल्छ नि!’

संसदका विषयगत समितिहरू सक्रिय नहुँदा संसद नै धिमा गतिमा चलिरहेको शर्माको भनाइ छ। सबैभन्दा ठूलो सत्ताधारी दल नेकपाको संसदीय दल नै व्यवस्थित नहुँदा संसदका काम पनि प्रभावित भएका भन्दै उनले भने, ‘संसदका विषयगत समितिहरूले काम गर्न सकेका छैनन्, लेखा समिति कसलाई दिने केही टुङ्गो लागेको छैन।’

सभामुख र उपसभामुख फरकफरक दलको हुने संवैधानिक प्रावधान भए पनि केन्द्रबाट कुनै निर्देशन नआउँदा कर्णालीमा पनि त्यो विषयमा अन्यौलता भएको सांसद शर्माको भनाइ छ।

अर्को एक प्रसंगमा सांसद शर्माले कर्णाली सरकारले ल्याएको बजेट  ठूला योजनामा केन्द्रित भएर आएकोले कर्णालीको विकासमा यो बजेट आधार बजेट हुने बताए। उनले कर्णाली प्रदेशको विकासका लागि सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निभाउनु पर्ने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.