|

काठमाडौं : दशैं लागेपनि सुनचाँदीको कारोबार अपेक्षाकृत बढ्न नसकेको व्यवसायीले बताएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको तर सोही अनुरुप उपभोक्ताको आम्दानी बढ्न नसक्दा सुनको कारोबारमा कमी आएको व्यवसायीको भनाइ छ। 

चर्को मूल्य वृद्धिका कारण उपभोक्तालाई दैनिक उपभोग्य वस्तुकै जोहो गर्न धौ-धौ पर्ने हुँदा सुनचाँदीको माग घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। भूकम्पपछिका चाडपर्वमा अघिल्ला वर्षहरुमा जस्तो सुनचाँदीको उल्लेख्य कारोबार नभएको उनको भनाइ छ। विदेशबाट आउने रेमिट्यान्स पनि मानिसहरुले भूकम्पले भत्किएका घरको पुनर्निर्माणमा खर्चने गरेकाले सुनचाँदीको बजार उकालो नलागेको व्यवसायीको निष्कर्ष छ। 

विवाह, व्रतबन्ध लगायतका शुभकार्यमा सुनचाँदी जोड्नै पर्ने बाध्यता हुँदा पनि मानिसहरुले सकभर थोरैमा काम चलाइरहेको अध्यक्ष शाक्यले बताए। भूकम्पअघिको दशैं तिहारमा देशभर दैनिक ४५ किलो भन्दा बढी सुन खपत हुने गरेपनि अहिले दैनिक २५ किलोको हाराहारीमा मात्रै खपत भइरहेको छ। शाक्यका अनुसार यो भूकम्पअघि अफसिजनको दैनिक औसत माग हो। 

बजारमा सुनको भाउ केही दिनदेखि लगातार घटिरहेको छ। यो हप्ताको सुरु देखिनै घटिरहेको सुनको भाउ बुधबार अचानक तोलमा १ हजार १ सय रुपैयाँ घटेर ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.