|

काठमाडौं : दशैंका लागि जिउँदो पशुपंक्षी वा काटेको मासु किन्दा त्यसको स्वास्थ्य र गुणस्तरमा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन्। अस्वस्थ पशुपंक्षी र गुणस्तरहीन मासुका कारण मानिसमा पशुपंक्षीजन्य रोग लाग्ने भएकाले सचेत हुनुपर्नेमा भेटेरेनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बोधनाथ अधिकारीले जानकारी दिए। 

मासुको उपभोगबाट पशुपंक्षीजन्य पदार्थबाट सर्ने रोगहरु नसरोस् भन्नका लागि काठमाडौंका विभिन्न खसीबजारहरुमा पशु चिकित्सक र प्राविधिकहरुको टोली खटाएर र मासु पसलहरुमा पनि प्राविधिक सहितको टोली खटाइएको उनले जानकारी दिए। 

जिउँदो खसीबोका किन्दा रुघाखोकी नलागेको, घाँसपानी खाइरहेको, पखाला नलागेको, फूर्तिलो देखिने छान्न अधिकारीले सुझाव दिए। पशुपंक्षीबाट टिबी, ब्रुसलोसिस, एन्थ्राक्स, बर्डफ्लू जस्ता रोग मानिसमा सर्ने जोखिम हुन्छ। 

जिउँदो अवस्थामा रोग पत्ता नलागे पनि काटिसकेपछि ध्यान नदिँदा सामान्य जिवाणु र विषाणुले पनि आक्रमण गर्ने भएकाले मासु काट्दा सरसफाई कायम गर्न र मासुको परिक्षण गर्नुपर्नेमा डा. अधिकारीले जोड दिए। मासुमा नदेखिने अवस्थामा फित्ते जुकाको लार्भा हुने भएकाले राम्रोसँग नपकाई मासु खान नहुने उनको भनाइ छ। 

काँचो मासु सन्चय गर्दा २ देखि ८ डिग्री सम्म तापक्रममा राख्दा ४/५ दिन सम्म र माईनस २० डिग्री भन्दा कममा सन्चय गरे २/३ महिनासम्म प्रयोग गर्न सकिने अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.