विचार

पुँजीवादको चक्रव्यूह
SHARES

असार ११, २०७५

    पुँजीवाद, जनताका लागि सबैभन्दा खराब व्यवस्था हो। लुटपाट, आगजनी, हस्तक्षेप, आक्रमण यसको चरित्र हो। पुँजीवादले धनीलाई झनझन् धनी बनाउने र गरिबलाई झनझन् गरिब बनाउने काम गर्छ। अत्याचारी शासन प्रणाली भएको हुनाले यसको विरुद्धमा विरोध पनि हुन्छ। द्विपक्षीय, बहुपक्षीय युद्ध पनि हुन्छ। दुई ठूला विश्वयुद्ध पुँजीवादकै गर्भबाट जन्मिएका हुन्। डरलाग्दो मन्दी पनि यसैले भोगेको छ पटक पटक। तर अनौठो! यो पुँजीवाद ढल्नढल्न खोजेर फेरि ठिंग उभिइहाल्छ। कसरी यस्तो हुन्छ? २१औँ शताब्दीको समाजवादको चर्चा गर्ने विद्वान्हरूले यसको राम्रो अनुुसन्धान गरे मानिसहरूले भत्किँदै गएको पुँजीवादमाथि कडा प्रहार गर्न सक्थे।

    कुनै जमाना थियो– सारा विश्व प्लास्टिकको दास भएको थियो। प्लास्टिकका भाँडाकुँडा मात्र होइनन्, प्लास्टिकको गाग्री, प्लास्टिकका पानी खाने बोतल। प्लास्टिककै झोला। केके केके! धेरैले आफ्ना परम्परागत भाँडाकुँडालाई प्लास्टिकका भाँडाले विस्थापित गरे। फलाम, स्टील, तामा पित्तलका दिन गए। जता हेर्‍यो, उतै प्लास्टिक।  

    पन्ध्र वर्ष यो प्लास्टिक आतंक चलिरह्यो। पन्ध्र वर्षमा प्लाष्टिक, सबै शहरका सीमा भत्काएर गाउँगाउँमा पुग्यो। विज्ञापन पनि कति रमाइलो– बोक्न हलुका, टिकाउ प्लाष्टिकका भाँडा प्रयोग गर्नुहोस्। सोझा गाउँलेहरूले घरमा भएका पित्तल र तामाका गाग्री बेचेर प्लास्टिकका गाग्री घरभित्र छिराए। यो नेपालको कथा हो।

    अकस्मात अर्को हल्ला फैलाइयो– बीस माइक्रोनभन्दा कमका प्लाष्टिकको झोला प्रयोग नगर्नुहोस्। रेडियो, टेलिभिजन, पत्रपत्रिका सबैतिर बीस माइक्रोनभन्दा मुनिको प्लाष्टिक झोलाको लेथ्नु काढियो। मानिसहरू आतंकित भए। त्यसपछि झण्डै दुई–तीन वर्षसम्म बाक्ला प्लाष्टिकको झोलाको बहार आयो।

    एक्कासि पश्चिमे हावा आयो आतंकको कालो बादल बोकेर– प्लाष्टिक प्रयोग नगर्नुहोला। प्लाष्टिक कहिल्यै कुहिँदैन। प्लाष्टिकमा तातो पदार्थ नखानु होला– त्यसले क्यान्सर रोग निम्त्याउँछ।

    अब परेन फसाद! यो कुनै अज्ञानताबाट जन्मिएको ज्ञान थिएन। प्लाष्टिक खराब हो भन्ने कुरा ती सबै उत्पादक र तिनका अनुसन्धानकर्मीलाई थाहा थियो। प्लाष्टिक खराब हो तर दक्षिण एसिया, अफ्रिका जस्ता अविकसित मुलुकहरूलाई प्लाष्टिकको खराबी थाहा छैन। निष्कर्ष निकाले उनीहरूले– पहिले पैसा कमाऊँ, पछि औषधि बताउँला। मर्ने मरिहाल्छन्, नमरेकालाई बचाउँला। यो हो पुँजीवाद।

    मैले शरीरमा हुने सुगरको मात्राको खबर पढेको थिएँ। खबरमा भनिएको थियो– आरम्भमा १४० को तहसम्म सामान्य मानिन्थ्यो रे! मैले पढ्दा त्यो १२६ मा झरेको थियो। एक्कासि १४ प्वाइण्टको फरक। १४ प्वाइण्ट तल झर्दा भारतमा मात्रै ५४ करोड मान्छेमा सुगर थपियो रे! खबरमा भनिएको थियो– सुगरको उच्चतम मात्रा १४ प्वाइन्ट झर्नुको मूल कारण रहेछ– ११ जनाको त्यो छानबिन कमिटीमा आठ जना भद्रभलाद्मीहरू सुगरको औषधि उत्पादन गर्ने कम्पनीका सल्लाहकार रहेछन्। यो पनि पुँजीवाद नै हो। 

    मोबाइल फोन धेरै पछिको कुरा भयो। नेपालमा यसको प्रचलन बीस वर्षपछि मात्र भयो। बीस वर्षमा यसको अभूतपूर्व विकास पनि भयो। घुम्ने कुर्चीमा निदाउनेदेखि गाउँघरमा घाँस काट्नेसम्मको हातमा मोबाइल पुग्यो। हातहातमा आइफोन पनि देखियो। एक लाख रुपैयाँ पर्ने आइफोन पनि अघाउँजी बिक्री भइसकेपछि सतर्कताका खबरहरू आउन थाले– मोबाइल कमिजको गोजीमा नबोक्नुहोला। मोबाइल कानमा जोडेर कुरा नगर्नुहोला। मोबाइलका तरंगहरूले मस्तिष्कमा नकारात्मक प्रभाव उत्पन्न गर्छन्। बीस वर्ष अगाडि मोबाइल फोन उत्पादनको आविष्कारकर्तालाई यत्ति पनि थाहा थिएन?

    अहिले पनि विश्व पुँजीवाद संकटमै छ। बेलायतको ब्रेक्जिट, युरोपियन युनियन र अमेरिकाबीचको झगडा, अमेरिका र चीनबीचको व्यापार युद्ध, राष्ट्रपति डोनाल्ड ट्रम्पका उट्पट्याङ निर्णयहरू यो संकटका संकेतहरू हुन्। समयक्रममा पुँजीवादले यसको व्यवस्थापन गर्नेछ र विश्वभरका पुँजीवादी शक्तिलाई एउटै ठाउँमा समेट्नेछ।

    मोबाइल फोनले क्यामरालाई विस्थापित गरिदियो। त्यसले टेप रेकर्डरलगायतका संगीत संकलनका राम्रा कामहरूलाई खोलातिर बगाइदियो। अर्बौं रुपैयाँ कमाइसकेपछि तिनै मोबाइलका आविष्कारकहरू भन्छन्– मोबाइल खराब कुरा हो। यसलाई चलाउँदा मात्र होइन, स्वीच अफ गर्दा पनि सतर्क हुनुपर्छ। यसबाट उत्पन्न हुने तरंगले स्वास्थ्यमा ठूलो हानि पुर्‍याउँछ। तर अहिले मोबाइल फोन रक्सीको नशा जस्तो भएको छ। 

    अर्को यस्तै विचित्रको प्रयोग भएको छ ल्यापटपको। ल्यापटप, कम्युटरकै एउटा रूप हो। ल्यापटपको अर्थ हुन्छ– काखमा राख्ने कम्प्युटर। सुरुमा कम्प्युटरको बढी प्रयोग हुने बेलामा ४० हजार रुपैयाँमा पाइने ल्यापटपको मूल्य यतिबेला ८० हजार भएको छ। यो दोहोरो मूल्यवृद्धि भएको पनि धेरै भइसक्यो। बल्ल व्यापारीहरूले भन्न थालेका छन्– ल्यापटप र कम्युटर चलाउनेहरू होसियार। आँखा र कम्युटरको दूरी दुई फिटको हुनुपर्छ। मान्छेको काख र आँखाबीचको दूरी दुई फिट हुन्छ? ठग्नुको पनि एउटा सीमा हुन्छ नि!

    धेरैै पहिले मैले एउटा भनाइ पढेको थिएँ– अमेरिकाले विश्वलाई दुइटा उपहार दियो रे! एउटा च्युइङ्गम र अर्को एड्स। ती भन्ने मानिस पनि अमेरिकी थिए। तर त्यो अमेरिकाले चाहिने नचाहिने, हुने नहुने, तर्क कुतर्क गरेर एड्सको उत्पत्तिस्थल अफ्रिका हो भनेर आफूले त्यसबाट छुट्टी लियो। भनाइ नै छ– बोल्नेको पिठो बिक्छ, बोल्न नसक्नेको चामल पनि बिक्दैन। कहाँ अमेरिका, कहाँ अफ्रिकाली राष्ट्रहरू!

    अहिले पनि विश्व पुँजीवाद संकटमै छ। बेलायतको ब्रेक्जिट, युरोपियन युनियन र अमेरिकाबीचको झगडा, अमेरिका र चीनबीचको व्यापार युद्ध, राष्ट्रपति डोनाल्ड ट्रम्पका उट्पट्याङ निर्णयहरू यो संकटका संकेतहरू हुन्। समयक्रममा पुँजीवादले यसको व्यवस्थापन गर्नेछ र विश्वभरका पुँजीवादी शक्तिलाई एउटै ठाउँमा समेट्नेछ।

    तर समाजवाद अलमलिएको अलमलियै छ। बीसौँ शताब्दी उत्तराद्र्धको आरम्भमा विश्व समाजवादमय भएको थियो तर सोभियत संघको बिखण्डनसँगै समाजवाद मर्‍यो भन्ने ठाउँमा पुर्‍याइयो विश्वलाई। समाजवादले लामो समयसम्म यो एकपक्षीय बितण्डालाई खण्डन गर्न सकेन।

    अहिले एउटा राम्रो संभावना देखिएको छ। सोभियत समाजवादको विघटनपछि संसारमा उज्यालो छर्ने काम नेपालबाटै भएको थियो। अहिलेको नेपालमा कम्युनिस्टको अवस्था त्योभन्दा बलियो भएको छ। उता, उत्तर कोरियाले अमेरिकाविरुद्धको लडाइँमा नैतिक विजय पाएको छ। 

    अब समाजवादीहरूले गल्ती नगरून्। पुँजीवादको गर्भबाट अब समाजवाद जन्मिँदैन। पुँजीवादलाई पराजित गरेर, राष्ट्रिय स्वाभिमान जोगाएर मात्र पुँजीवाद पराजित हुन्छ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]