|

भद्रपुर, (झापा) : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शक्तिशाली र बलियो सरकारले यसपटक जनताको चाहना र भावनालाई बुझेर बजेटमार्फत नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन्।

झापाको भद्रपुरस्थित एसएस निकेतन विद्यालय परिसरमा सोमबार सामाजिक तथा शिक्षाप्रेमी व्यत्तित्व स्वर्गीय देवीप्रसाद उप्रेतीको २६औँ स्मृतिसभाको अवसरमा देवीप्रसाद उप्रेती निजानन्द आश्रमद्वारा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने,‘नेपालमा पहिलोपटक बनेको शक्तिशाली केन्द्रीय, प्रदेश र स्थानीय सरकारले जनताको विकास र समृद्धिको चाहना पूरा गराउन उदेश्यले बजेटसहितको नीति तथा कार्यक्रम ल्याएको हो।’  

प्रदेश सरकारले करिब ३६ अर्बको बजेट ल्याएको बताउँदै उनले भने, ‘प्रदेश १ लाई नमुना प्रदेश बनाउने संकल्प गरेको छु, सोहीअनुसार जनताको निम्ति काम गर्नेछु।’  पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसो जस्ता वस्तु उत्पादन हुने भन्दै मुख्यमन्त्री राईले उत्पादनलाई भारतसहित बंगलादेश र भुटानसम्मको बजार विस्तार गर्न सकिए आर्थिक समृद्धिमा फड्को मार्ने बताए।

साहित्य, शिक्षा र पत्रकारिता क्षेत्रबाट तीन जना पुरस्कृत

कनकाई नगरपालिका घैलाडुब्बास्थित देवीप्रसाद उप्रेती निजानन्द आश्रमका अध्यक्ष तिलोत्तन संग्रौलाको अध्यक्षतमा भएको पुरस्कार बितरण समारोहमा यसवर्ष साहित्य, शिक्षा र पत्रकारिता क्षेत्रबाट गरी तीन जनालाई पुरस्कृत गरिएको छ । 

पुरस्कृत हुने साहित्यकार होमनाथ अधिकारी, शिक्षासेवी उमानाथ ओली र पत्रकार तारामणि सापकोटा रहेका छन्। उनीहरूलाई नगदसहित सम्मानपत्रद्धारा मुख्यमन्त्री राईले पुरस्कृत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.