|

सुर्खेत : ‘मानो रोपेर मुरी फलाउने’ भनेर चिनिने असार महिनाको दोस्रो सातासम्म कर्णाली प्रदेशमा २१ प्रतिशत मात्रै रोपाइँ भएको छ। प्रदेशका हिमाली जिल्लाहरूमा रोपाइँ सकिए पनि पहाडी जिल्लाहरूमा भने समयमै मनसुन सक्रिय नहुँदा रोपाइँ हुन सकेको छैन।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हिमाली जिल्ला डोल्पामा शतप्रतिशत, जुम्लामा ९५, मुगुमा ४४,  कालिकोटमा ४० र हुम्लामा शून्य प्रतिशत रोपाइँ गरेर सकिएको छ। कर्णालीका मध्य पहाडी जिल्लाहरूमा असारको दोस्रो सातासम्ममा कम मात्रामा रोपाइँ भएको छ। सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुममा केही मात्रामा मात्रै रोपाइँ भएको छ।

यो असार १५ सम्ममा सुर्खेतमा ३, दैलेखमा २०, रुकुममा ३२ र जाजरकोटमा ५० प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए। सूचना अधिकारी थापाका अनुसार कर्णाली प्रदेशमा सिँचाइ सुविधा भएको ३० हजार ९०७ र सिँचाइ सुविधा नभएको १५ हजार २५६ हेक्टर जमिनमा धानबाली लगाउने गरिएको छ।

सिंचाई सुविधा नहुँदा धान खेती गरिने कुल जमिनको ५० प्रतिशतमा रोपाइँ गर्न किसानले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ। कुलो लाग्ने र सिँचाइ सुविधा भएको ठाउँमा रोपाइँ भए पनि पहाडी जिल्लामा भने मनसुनले साथ नदिँदा अधिकांश ठाँउमा रोपाइँ हुन सकेको छैन।

‘यो समयसम्म कम्तिमा ३५ देखि ४० प्रतिशत रोपाइँ भइसक्नुपर्थ्यो’ मन्त्रालयका सूचना अधिकारी थापाले भने, ‘दोस्रो सातासम्म कमै मात्रामा रोपाइँ भएको छ, तर पनि किसान आत्तिहाल्नु पर्ने अवस्था भने छैन।’ साउन पहिलो सातासम्म भए पनि धान रोप्न सकेमा खासै समस्या नपर्ने र उत्पादनमा खासै असर नपर्ने थापाको भनाइ छ।

हिमाली जिल्लामा पहिले नै पर्याप्त वर्षा भएकाले रोपाइँ समयमै भए पनि पहाडी जिल्लामा अझै रोपाइँ गर्ने गरी पानी पर्न सकेको छैन। जसले गर्दा किसानहरू आकाशे पानीको पर्खाइमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.