|

तनहुँ : नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद विक्री सम्झौतामा हस्ताक्षर भएको छ। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (Power Purchase Agreement)मा हस्ताक्षर भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवर्द्धक कम्पनीको तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जलाशययुक्त आयोजनाको पहिलो पिपीएको रूपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन्।

कार्यकारी निर्देशक घिसिङ र प्रबन्ध सञ्चालक थिकेबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता अवधिमा आयोजनाबाट व्यापारीक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्र (Generatipn License)को अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ। सम्झौतामा आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिएको छ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर– १५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश १२.४० र ६.०८ रुपैयाँमा खरिद गर्नेछ। साथै उक्त दरमा कम्पनीले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्थाअनुसार मूल्यवृद्धिपश्चात (९७औँ महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुनेछ।

व्यापारिक उत्पादन सुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा ऊर्जा खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ। आयोजनाको सुख्खा र वर्षायामको क्रमशः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिट सम्झौता ऊर्जा कायम गरिएको छ।

यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको ऊर् को ३५ प्रतिशतभन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था गरिएको आयोजनाले जनाएको छ। प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि सुख्खा र वर्षायामका लागि प्रतियुनिट १०.५५ र ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ।

प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको ऊर्जा खरिद गर्नु पर्नेछ। साथै अतिरिक्त ऊर्जाको हकमा प्राधिकरणले डिस्प्याच इन्स्ट्रक्सन जारी गरी तोकिएको खरीद दरको ५० प्रतिशत दरमा खरिद गर्ने छ। आयोजनाबाट उत्पादन हुने विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिनेछ। 

आयोजनाको पूर्वाधार निर्माण कार्यहरू सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाको मुख्य संरचनाहरूको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ। यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ।

यसको लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण तथा प्राधिकरण र आयोजना कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.