|

दार्चुला : सदरमुकाम बाढीको कति जोखिममा छ ? महाकालीमा कति पानी आउँदैछ ? भन्ने कुराको सूचना लिने दिने कुनै उपाय र उपकरण नेपालसँग छैन। बाढी र वर्षाका लागि पूर्व सूचना दिने पूर्व सूचना प्रणाली नहुँदा दार्चुला सदरमुकाममा विपदको पूर्व तयारी गर्न समस्या परेको सरोकारवालाहरूले बताएका छन्।

वर्षा लागेसँगै महाकालीमा आउन सक्ने बाढी र खलंगा बजारको ठिक उत्तरतिर भारतीय क्षेत्रमा गएको पहिरोका कारण अहिले पनि खलंगा बजार क्षेत्र महाकालीको बाढीको जोखिममा छ। तर महाकालीमा कति पानी आउँदैछ। पानीको सतह र वहाव कति छ ? भन्ने कुराको पूर्व सूचना दिने प्रणाली नै छैन।

पूर्व सूचना प्रणाली नहुँदा विपद पूर्वको तयारी गर्न समस्या परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका मन्त्री दिपकप्रसाद अवस्थीले बताए। ‘पूर्व सूचना प्राप्त गर्न सक्ने प्रणाली भएको भए तत्कालिक र दीर्घकालीन विपद व्यवस्थापनका योजना बनाउन सजिलो हुन्थ्यो। पूर्व सूचना नै नआउने भए पछि विपद व्यवस्थापन तयारी गर्न समस्या परेको छ,’ मन्त्री अवस्थीले भने।

पानीको वहाव र सतह नापेर सूचना दिने प्रणाली खलंगा पूर्व नहुँदा जनताले दिएको सूचनामा भर पर्नुपर्ने अवस्था आएको सिमा सुरक्षा गुल्प दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले बताए। यस्तो प्रणाली स्थापना गर्न, सूचना आदन प्रादन गर्न र विपद व्यवस्थापनको पूर्व तयारी गर्न जनप्रतिनिधिहरू पनि तयार हुनुपर्ने गुल्मपति जोशीले भने, 'खलंगाको उत्तरतिर पूर्वसूचना प्रणाली स्थापना हुनसके सबैलाई सजिलो हुने थियाे।'

किन आवश्यक छ यस्तो प्रणाली ?

२०७० साल असार सुरुमा महाकालीमा आएको बाढीले ठूलो क्षति गर्‍याे। नेपाली भूभाग भारततिर लगेर थुपार्‍याे। उक्त बाढी आउनुको मुख्य कारण भारतको सिमावर्ती क्षेत्रमा रहेको धौलीगंगा जलविद्युत योजनाको ड्याम खोल्नु थियो। वर्षाको पानीले ड्याम भरिएर फुट्ने अवस्था आएपछि योजनाले ड्यामका सबै ढोको खोल्दा दुई दिनसम्म महाकालीको सतह र वहाव निक्कै बढी रह्यो।

धौलीगंगा जलविद्युत योजनाको ड्याम अझै पूर्ण सुरक्षित नभएको, नदीमा अत्याधिक पानी आउनेबित्तिकै खोल्नु पर्ने अवस्था रहेको भारतीय अधिकारीहरूले बताउँदै आएका छन्। यस्तो अवस्थामा धौलिगंगाको ड्याम वर्षामा पानी बढी हुनेबित्तिकै जुनसुकै बेला खोल्न सक्छ योजनाले। उक्त ड्याम खोलियो भने महाकालीमा अत्याधिक जलसतह बढ्ने खतरा रहने सम्भावना कायमै रहेको नेपाली अधिकारीहरू बताउँछन्। उनीहरूले ड्याम खोल्ने हो भने बांगाबगड क्षेत्रमा चुनौति देखिने महाकाली नदी नियन्त्रण कार्यालयका प्रमुख ईन्जिनियर सुशिलचन्द्र देवकोटा बताउँछन्। नदीमा अत्याधिक वहाव र सतह उच्च हुने हो भने भारतीय क्षेत्रमा गएको खोतिल पहिरोका कारण उक्त क्षेत्रमा नदी थुनिन सक्ने सम्भावना रहेको उाको भनाई छ।

नदीमा आउन सक्ने अत्याधिक वहाव र नदीको उच्च सतहका कारण पहिरो थुनिन सक्ने सम्भावना रहेकाले उत्तररितबाट कति पानी आउँदैछ भन्ने कुरा जानकारी पाउन सके चुनौतिको समाधान गर्न तयारी गर्न सजिलो हुने नदी नियन्त्रण कार्यालयका प्रमुख ईन्जिनियर देवकोटा बताउँछन्। महाकाली नदीको किनारै किनार बस्ती भएको र २०७० सालको बाढीले जनजीवनलाई निक्कै त्रसित बनाएका तथा जुनसुकै बेला पनि धौलिगंगा जलविद्युतले ड्याम खोल्न सक्ने भएकाले पूर्व सूचना प्रणाली आवश्यक भएको नेपाल रेडक्रस सोसाईटी दार्चुलाका मन्त्री अवस्थी बताउँछन्।

पूर्व सूचनाका लागि भारतीय भर

दार्चुला सदरमुकाम लगायत खलंगा दक्षिणका नदी किनारका बस्तीहरू महाकालीको बाढीको जोखिममा रहेका भए पनि ती बस्तीसम्म बाढीको पूर्व जानकारी दिने कुनै प्रणाली छैन। २०७० सत्तरी सालको बाढीपछि खलंगाबाट करिब १८ किलोमिटर दक्षिण दत्तुमा पूर्व सूचना प्रणाली स्थापना गरिएको छ भने महाकालीमा बाढीको कारण बन्न सक्ने धौलिगंगा जलविद्युत योजना खलंगाबाट करिब ३५ किलोमिटर उत्तरतिर पर्दछ।

खलंगा उत्तरतिर खतरा रहेको तर पूर्व सूचना प्रणाली नहुँदा भारतीय अधिकारीहरूबाट त्यस्तो सूचना लिनु परेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। 'हामीसँग त्यस्तो प्रणाली छैन. भारतीय अधिकारीहरूबाट यस्तो सूचना लिनुपर्ने हुन्छ,' सहायक प्रजिअ जोशीले भने। असार १५ गते बेलुकादेखि धौलिगंगाले ड्याम खोल्ने सूचना आएपछि नदी किनारका बस्ती र खलंगाका स्थानीयले त्रासको महसुस गरेका थिए। ‘ड्याम खोल्ने कुरा चल्यो। भारतीय क्षेत्रमा रहेको पहिरोले नदी थुनिएर समस्या हुने कि भन्ने डर रातभरि रह्यो।’ महाकाली नगरपालिका ४ का स्थानीय मदनसि‌ंह धामीले भने।

ड्याम खोल्ने सूचना भारतीय अधिकारीहरूबाट आधिकारिक रुपमा आएपछि सञ्चार माध्यमहरूका माध्यमबाट स्थानीयलाई जानकारी गराउनु परेको स्मरण सीमा सुरक्षा गुल्मका गुल्पति जोशीको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.