२/३ परिवार एकैठाउँमा बस्नुपर्ने बाध्यता हट्यो

|

चितवन : चितवनको रत्ननगर नगरपालिका-७  सिसवारमा निर्माण भएको ‘रोटरी मुसहर नमूना वस्ती’ शनिबार हस्तान्तरण गरिएको छ। चितवनका विभिन्न छवटा रोटरी क्लबको अगुवाईमा निर्माण भएको नमूना वस्ती शनिबार हस्तानतरण गरिएको हो।

रोटरी क्वल अफ चितवन, रोटरी क्लव अफ रत्ननगर, रोटरी क्लव अफ नारायणगढ, रोटरी क्वल अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैंडाकोटको अगुवईमा ‘रोटरी मुसहर नमूना वस्ती’ निर्माण गरिएको हो।

गएको माघ १२ गतेबाट उक्त वस्ती निर्माण सुरु भएको थियो। घर निर्माण भए पनि अन्य बगैंचा र सामुदायिक भवन निर्माणको काम भने बाँकी नै छ। शनिबार उक्त वस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरियन अनिलकुमार थपलियाले राहत वितरणका लागि आउँदा ओत लाग्ने ठाउँ नभएको देखेपछि अभियान चलाएर वस्ती निर्माण गरिएको बताए।

५८ लाख ३४ हजार रुपैयाँ लागतमा निर्माण भएको नमूना वस्तीको आधा खर्च भने हस्तबहादुर भट्टराई प्रतिष्ठानले व्यहोरेको निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। अन्य विभिन्न संघसंस्था, रोटरियन र नगरपालिकाबाट सहयोग प्राप्त भएको छ।

अझै सो क्षेत्रमा आउने बाटो निर्माणका लागि आधा रकम व्यहोर्ने प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराईले जानकारी दिए। रोटरी र आफ्नो भावना मिलेकाले सामुहिक रूपमा आर्थिक संकलन गरी विपन्नको घर निर्माण भएकोमा भट्टराईले खुसी व्यक्त गरे।

पहिलो चरणमा १२ परिवारका लागि घर निर्माण भएको छ। आगामी समयमा पुनः १२ घर निर्माण गर्ने योजना रोटरीको छ। एउटा घरमा किचनसहित तीनवटा कोठा छन्। शौचालयसमेत बनाइएको छ। बाल उद्यान, सामुदायिक भवनसमेत निर्माण गरिने छ। हरेक घरका लागि एक एक वटा ट्यूववेल निर्माण गरिएको छ। 

 चितवनको सौराहा नजिकै रत्ननगर-७ मा २६ जना मुसहरको नाममा खरिद भएको १५ कठ्ठा ७ धुर जग्गामा उक्त नमूना वस्ती बनाइएको हो।

नयाँ घर पाएपछि जीवन मुसह, विगवा, राजु, भदै मुसहर, सुखारी, कार्की, तेजबहादुर, रुपलाल, पतिराम, लक्ष्मण र बलराम मुसहर खुसी भएका छन्। वस्ती हस्तान्तरणमा मुसहरहरू आफ्नो पोषाकमा सजिएर खुसी मनाएका थिए।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चेपाङ र मुसहरहरूलाई स्नातकोत्तरसम्म पढ्नका लागि नगरपालिकाले सहयोग गर्ने जानकारी दिए। यस्ता कार्यक्रममा हातेमालो गर्न नगरपालिका तयार रहेको उनले बताए।

सो क्रममा निर्माण समितिले नगरप्रमुख वनलाई नमुना वस्तीको चावी दिएर हस्तान्तरण गरेको थियो। कार्यक्रममा वर्ष २०२०/२१का लागि रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेल, नयनराज नेपाल, निरञ्जन प्रधानलगायतले बोलेका थिए। मुसहरहरूले कष्टकर रूपमा जीवन गुजार्दै आएकोमा घर निर्माण भएपछि खुसी व्यक्त गरेका थिए।

मुसहर वस्तीकी अगुवा भगवन्ती मुसहरले एउटै घरमा २/३ परिवार बस्न बाध्य भएको अवस्थामा घर निर्माण भएपछि सहज भएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.