|

काठमाडौं : नेपाल–भारतवीच १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका दुर्इपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले आफ्नो कार्य (साझा प्रतिवेदन) सम्पन्न गरे लगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन्।

ईपीजीको कार्यकाल सकिदैं लाग्दा उपप्रधानमन्त्रीको नीजि निवास धापासीमा भएको उक्त भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशविचको सम्वन्धको बढ्दो उचाई, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका विभिन्न पक्षका बारेमा छलफल भएको छ। साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस भन्ने भारतले चाहेको बताए।

कोसियारीले आगामी दिनमा दुई देशका विचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी गराए। नेपालसँगको सीमा जोडिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री समेत भैसकेका कोसियारी भारतीय जनता पार्टीका वरिष्ठ नेता मध्येका एक हुन।

साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिए। उनले दुवै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यन्वयन गर्ने तर्फ ध्यान दिने विश्वास व्यक्त गरे। 'जसरी समझदारीका साथ प्रतिवेदन तयार गर्नुभएको छ, अब प्रभावकारी कार्यन्वयनमा पनि तपाईले भूमिका खेल्नुपर्छ', उपप्रधानमन्त्री पोखरेलले भने। उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट र अन्तरक्रिया भैरहनुपर्नेमा जोड दिए।

'नेपाल–भारतविचको सम्वन्धलाई बलियो र सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट, अन्तरक्रिया र छलफल हुन जरुरी छ’– उनले भने। दुई देशबीच आइपर्ने कतिपय व्यवहारिक समस्या पनि समझदारीका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

साझा प्रतिवेदन तयार भएपनि केही दिनभित्रै औपचारिक ढंगले दुई देशका सरकार प्रमुखलाई बुझाउने तयारी समितिको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेललाई भेटेपछि कोसियारीले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.