|

काठमाडौं : मनसुन सक्रिय हुँदा आइतबारदेखि देशभर वर्षा भएको छ। देशभरका प्रायः ठाउँमा मौसम बदलीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो। मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन। तर हाल मनसुन केन्द्रीय स्थानमा आइपुगेको महाशाखाका मौसमविद् सन्देश श्रेष्ठले बताए।

उनले भने, 'नेपालमा मनसुन जुन ८ देखि सुरु भए पनि यति धेरै सक्रिय भएको थिएन। हाल मनसुन पूर्ण रूपमा सक्रिय भएर देशभर वर्षा भइरहेको छ। यो क्रम अझ दुई-तीन दिन रहन्छ।'

यस्तै, हाल देशको पश्चिमको धेरै ठाउँमा भारी वर्षा भएको छ। मनसुन सक्रिय भएका कारणले वर्षा भएको र भोलिदेखि पश्चिम भागमा कम वर्षा हुने र मनसुन सर्दै पूर्वतिर जाने हुँदा भोलिदेखि केही दिनसम्म देशको पूर्वी भागमा धेरै वर्षा हुनेसमेत उनले बताए।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवामा २२६ मिलिलिटर, नेपालगंजमा २०६ मिलिलिटर, सिमरामा १८६ मिलिलिटर, दाङमा १४२.१ मिलिलिटर, धनगढीमा १४०.७ मिलिलिटर र विराटनगरमा ११६.९ मिलिलिटर वर्षा भएको छ। काठमाडौंमा ४२ मिलिलिटर वर्षा भएको छ भने सबैभन्दा कम वर्षा लुम्लेमा ११ मिलिलिटर भएको छ। 

आज काठमाडौँको अधिकतम तापक्रम २१ डिग्री रहेको छ। केही दिनयता मौसम बदली र वर्षाका कारण उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ। हिजो आइतबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री रहेको थियो भने गत असार १४ र १५ गते ३० डिग्रीको रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.