|

काठमाडौं : पछिल्लो एक महिनामा नेप्से झण्डै १०० अंकले ह्रास आएको छ। कारोबार रकम दिनदिनै घट्दो छ। कतिपय लगानीकर्ताहरूलाई नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिपछि बजार सुधार उन्मुख हुने अपेक्षा लिएका छन्।

तर विज्ञ तथा जानकारहरू भने मौद्रिक नीतिको प्रभाव शेयर बजारमा नपर्ने बताउँछन्। 'औपचारिक रूपमा शेयर बजार सुधारका लागि भनेर राष्ट्र बैंकको मौद्रिक नीति आउने होइन', नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने। उनी मौद्रिक नीति र शेयर बजारको उल्टो दिशा हुने भएका कारण पनि सकारात्मक प्रभाव पर्न गाह्रो हुने बताउँछन्।

'मौद्रिक नीतिले वित्तीय सन्तुलन मिलाउने हो, व्याजदर कम छ भने बढाउन सहयोग गर्छ। बढी छ भने नियन्त्रणको प्रयास गर्छ', पंगेनीले भने, 'मौद्रिक नीति र शेयर बजारमा एकआपसमा दिशा मिल्दैन'।

उनले अहिले व्याजदर नियन्त्रण गर्ने अवस्था नरहेका कारण मौद्रिक नीतिले मात्रै बजारमा सुधार नआउने बताए। त्यस्तै, आगामी दिनमा समेत बजारमा तरलता चाप बढी देखिने भएका कारण यसको नकारात्मक प्रभाव शेयर बजारमा देखिने उनी बताउँछन्। 'पहिले जस्तो केन्द्रिकृत बजेट अब छैन, प्रदेश र स्थानीय सरकारको बजेट केन्द्र सरकारले नचलाउँदा तरलतामा थप समस्या देखिन्छ, यसले व्याजदर वृद्धिमा सहयोग पुग्नेछ', उनले भने।

त्यसो त शेयर लगानीकर्ताहरूको संस्था नेपाल इन्भेष्टमेन्ट फोरमा अध्यक्ष अम्बिका पौडेल पनि मौद्रिक नीतिले तत्काल शेयर बजारमा प्रोत्साहन दिन नसक्ने बताउँछन्। 'शेयर बजारमा प्रभाव बजेटको पर्ने हो, मौद्रिक नीतिको प्रभाव तत्काल देखिने होइन', उनले भने।

अहिले बजार घटिरहँदा केही केही ब्रोकरहरूले भने मौद्रिक नीतिसँगै बजारमा बढोत्तरी हुने प्रतिक्रिया दिएका छन्। 'अहिले लगानीकर्ताहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्', एक ब्रोकरले भने, 'मौद्रिक नीतिबाट बैंकहरूको व्यजदरमा कडाइ हुनेछ, त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिनेछ।'

शेयर लगानीकर्ताहरूले शेयर धितोकर्जा खुकुलो गर्न माग गरेका छन्। नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै उनीहरूले मूल्यांकनको ८० प्रतिशतसम्म मार्जिन लेन्डिङ हुनुपर्ने माग गरेका छन्।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले मार्जिन लेन्डिङ (शेयर धितो कर्जा) राष्ट्र बैंकले नबढाउने नीति रहेको छ। गत वर्षबाट यस्तो धितो ५० प्रतिशतसम्म दिन मिल्ने व्यवस्था गरिएको छ।

अर्कोतर्फ वाणिज्य बैंकहरू पुँजी वृद्धि योजना पुन: बढ्न सक्ने भएका कारण पनि यसले बैंकको लगानी शेयर बजारमा नतानिने संकेत गरेको छ। पछिल्लो समय आधार मूल्यमा शेयरमा पुँजीगत लाभकर उठाउने सरकारी निर्णयबाट शेयर लगानीकर्ताहरू झस्किएका छन्। सरकारको यस्तो निर्णयपछि बजार बन्द गरेका लगानीकर्ताहरू अर्को व्यवस्था नहुन्जेल भन्दै निर्णय फिर्ता लिएपछि कारोबारमा गएका छन्। तर कस्तो निर्णय आउने हो भनेर पर्ख र हेरको नीतिमा लगानीकर्ता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.