|

सोलुखुम्बु : तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ। मौसम प्रतिकुलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो। 

नाइन एनए केके कल साइन भएको उक्त विमान अझै केही दिन लुक्लाबाट काठमाडाैं जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए। शुक्रबार मौसम प्रतिकुलताको वावजुद नै यहाँ अवतरण गरिएका २ वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ। विमान कम्पनीको नियमअनुसार ४८ घण्टा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ।

नियम अनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ। अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। हुस्सुको कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुन सकेको छैन। यहाँ हेलिकाेप्टरले समेत उडान भर्नसक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ। 

हेलिकाेप्टर समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडाैं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा. राजेन्द्र बस्नेतले बताए। डा. बस्नेतले भने, 'आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामी छन्, 'तर लैजान सकेका छैनन्। मान्छेको ज्यान बचाउन मुश्किल पर्‍यो।' डा. बस्नेतले भने, 'अक्सिजनबाट छुटायो भने एक घण्टा भन्दा बढी बचाउन सक्ने अवस्था छैन। गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन। मौसम प्रतिकुलताको कारण हेलिकाेप्टर समेत आउन सकेन।'

गत असार १५ गते जिल्लाको सोलु दूधकुण्ड नगरपालिका ११ तिङ्लामा जिप दुर्घटनामा ज्यान गुमाएका दुई जना कर्मचारीको शवलाई हेलिकाेप्टरमार्फत गृह जिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन। दुई दिनसम्म हेलिकाेप्टर पर्खाइमा बसे पनि सफल नभएपछि जिपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिए। 

लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटकहरू अलपत्र परेको तारा एयर लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताए। शेर्पाले भने, ‘यति नै यात्रु छन् भन्ने एकीन तथ्यांक छैन। केही यात्रुहरू पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जिपमार्फत गएको बुझिएको छ भने केही यात्रु एक घण्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकाेप्टरमार्फत गइरहेका छन्।’ देशैभरि भइरहेको वर्षातको प्रभाव सोलुखुम्बुमा पनि परेको छ। यद्यपि कुनै पनि अप्रिय घटना भने नभएको सोलुखुम्बु प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.