|

विराटनगर : कुरिलो खेती गरेर विराटनगरका एक युवक वार्षिक आठ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

विराटनगर-५ का विजय शर्मालाई पाँच वर्षअघि अर्काको रोजगारी गरेर पनि बिहान बेलुकाको छाक टार्न धौधौ पर्थ्यो तर अहिले उनी कुरिलो खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।

आफ्नो जग्गा पनि नभएका उनले अरूकै जमिन भाडामा लिएर कुरिलो खेती गरिरहेका छन्। अर्काको १० कठ्ठा जमिनमा लगाएको कुरिलोले वार्षिक आठ लाखभन्दा बढी आम्दानी दिएको उनको भनाइ छ। २०७१ सालदेखि खेति सुरु गरेका उनका लागि सुरुका दिन त्यति सन्तोषजनक भएन। विराटनगरका बजारमा कुरिलो बिक्री नभएपछि उनले प्रतिकेजी ३०० रुपैयाँका दरले चितवन पठाउन थाले। अहिले पनि उनले दिनको २५ देखि ३५ किलोसम्म कुरिलो चितवन पठाइरहेका छन्।

यस वर्ष विराटनगरमा नै भाटभटेनी सुपरमार्केट खुलेपछि एक दिन चितवन र एक दिन विराटनगरमै कुरिलो बिक्री गरिरहेका उनले भने, ‘पहिले पहिले चितवन पठाउँथेँ। अहिले भने विराटनगरको भाटभटेनीमै बिक्री हुन्छ।’

हाल १० कठ्ठामा खेती गरिरहेका उनले  यस वर्ष थप १० कठ्ठामा बिस्तार गर्न बेर्ना तयार पारेका छन्। विराटनगर महानगरपालिकाबाट ५० प्रतिशत अनुदानमा १५ क्विण्टल ओलको बिउसमेत खरिद गरेर उनले १५ कठ्ठामा लगाएका छन्। उनले कुरिलो र ओलबाट भएको आम्दानीले गत वर्ष फुसको घर हटाएर तीन कोठा पक्की घर निर्माण गरेका छन्। कुनै समय आफैँ कृषि मजदुरी गर्ने विजयले अहिले मासिक सात हजार ५०० तलब दिएर स्थानीय दुई जना महिलालाई कुरिलो खेतीको स्याहार गर्न काममा लगाएका छन्।

२०७१ असारमा जिल्ला कृषि विकास कार्यालय मोरङको छेउमा नै रहेको एग्रोभेट पसलमा धानको बिउ खरिद गर्न गएका उनको भेट कार्यालयका तत्कालीन बागबानी विकास अधिकृत काशीकुमार चौधरीसँग भयो। कार्यालयले २०७१ फागुनमा व्यवसायिक ओल खेतीका लागि १० क्विण्टल बिउ ५० प्रतिशत अनुदानमा दिएको थियो। त्यसलगत्तै उनी चौधरीको सल्लाहमा विराटनगरमा खासै नगरिएको कुरिलो खेती गर्ने निधो गरे।

रोपेको पहिलो वर्ष कुरिलो बिक्री नभएका कारण निराश बनेका विजय अहिले यसैबाट मनग्य आम्दानी हुनथालेपछि उत्साहित भएका  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.