|

विराटनगर : ३८ क्विन्टल सुन तस्करी तथा मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा सात जनाविरुद्ध जिल्ला अदालत मोरङमा पूरक अभियोग दर्ता भएको छ।

गत वैशाख १९ गते दर्ता भएको मुद्दामा जोडिएकाहरू थप छजना पक्राउ परेपछि एकजना फरार अभियुक्तसहित सात जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार पूरक अभियोग दर्ता गरेको हो। बुधबार नै विभिन्न मितिमा पक्राउ परेका पाँचजना व्यापारीको सोही मुद्दामा म्याद थपसमेत गरिएको छ।

उनीहरूलाई अपराधिक समूह स्थापना, सञ्चालन गरी सुन चोरीपैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा पूरक अभियोग दर्ता गरिएको हो। यसअघि सो मुद्दामा २८ जना पुर्पक्षको लागि थुनामा गइसकेका छन् भने एकजना धरौटीमा र एकजना सादा तारेखमा रिहा भएका छन्।

पूरक अभियोग लगाएर मुद्दा दर्ता भएकाहरू सुन व्यापारीदेखि मनिट्रान्सफरको कारोबार गर्ने र सुन तस्करीका प्रमुख अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका सहयोगीहरू रहेका छन्। सुन तस्करीको छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले काठमाडौंसहित विभिन्न स्थानमा पक्राउ गरेका उनीहरूलाई मोरङमा ल्याएर मुद्दा दर्ता गरिएको हो।

पूरक अभियोगमा सुन व्यवसायी उर्लाबारी-५ का ३८ वर्षीय रेवत भन्ने रेवन्तकुमार आचार्य, मनिट्रान्सफर सञ्चालन गर्ने दमक-९ का ३४ वर्षीय विनोद अधिकारी, दोलखा चरिकोट-१ का ४३ वर्षीय गोरेका सहयोगी मोतीराम श्रेष्ठ, काठमाडौं-९ का ३४ वर्षीय मदन सिलवाल, काठमाडौं-१६ स्वयम्भूका ५४ वर्षीय प्रजातान्त्रीक नेता भुजुङ गुरुको सवारी चालक फाल्दूङ फुल्टुङ भन्ने लक्षुबहादुर गुरुङ र काठमाडौं-६ गौरीघाटका ४२ वर्षीय रामकुमरा तिवारीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

उर्लाबारी घर भर्इ हाल दुबईको आबुदाबीमा कान्तिपुर ट्राभाल्स सञ्चालन गर्ने ३४ वर्षीय सन्दीप खड्कालाई समेत फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।

पूरक अभियोग लगाएर मुद्दा दर्ता भएकाको बिहीबारदेखि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजालसमा बयान सुरु हुने मोरङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए। अभियुक्तहरूको बयान सकिएपछि थुनछेकको बहस हुनेछ।

प्रहरीले सोही प्रकरणमा पक्राउ गरेका पाँच जना अभियुक्तहरूलाई समेत मंगलबार साँझ १० दिनको म्याद थप गरेको छ। पक्राउ परेकाहरू विमल पौद्वार, राजकुमार दारुका, सलमान खान भन्ने अकवर साह, सन्जय खेतान भन्ने प्रभात अग्रवाल र इन्तीयाज उद्दिनलाई अदालतमा उपस्थित गराएर म्यात थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान्त थापाले जानकारी दिए।

दोस्रो चरणमा पक्राउ परेकाहरूलाई म्याद थप गरी ६० दिनसम्म अनुसन्धान गरी पूरक अभियोग लगाएर मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विभिन्न स्थानमा पक्राउ गरी काठमाडौंबाट मंगलबार साँझ मोरङ प्रहरी कार्यालय ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.