|

काठमाडौं : गत भदौ १४ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय बदर गर्ने सरकारको निर्णयप्रति कांग्रेसले आपत्ति जनाएको छ। सरकारले निर्वाचनका समयमा आचारसंहिता लागिसकेपछि भएको राजनीतिक नियुक्तिको निर्णयको बदर गर्ने निर्णय गरेसँगै कांग्रेसले आपत्ति जनाएको हो। 

बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन देउवा नेतृत्वको सरकारले भदौ १४ पछि गरेका निर्णय र नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। 
कांग्रेसको यो निर्णयविरुद्ध सडक र सदनबाट सशक्त विरोध गर्ने चेतावनी दिएको छ। पछिल्लो समय सरकार पञ्चायती शैलीमा प्रस्तुत भएको भन्दै कांग्रेसले आलोचना गरेको छ। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको यो निर्णयप्रति कांग्रेसले डटेर सामना गर्ने बताए। उनले भने,‘तत्कालीन सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको थिएन। निर्वाचन आयोगबाट अनुमति लिएको थियो।’

उनले यो सरकारको कार्यशैलीले जनताको हितमा काम गर्नै नसक्ने दाबी गरे। ‘सरकारले जताततै हस्तक्षेप गर्दैछ। अधिकार खोस्दैछ। सरकार परिवर्तन हुन्छ तर निर्णय र नियुक्तिलाई बदर गर्ने हाम्रो  संविधानमा कहीँ व्यवस्था छैन।’ 

पछिल्लो समय सरकारले स्वतन्त्र न्यायालयमा पनि हस्तक्षेप गर्दै गएको बताए। उनले भने,‘राष्ट्रयसभा सदस्यमा तत्कालीन सरकारले गरेको निर्णय अदालतले बदर गरिदियो। हामीले त्यसमा धेरै केही भनेनौँ। तर अहिले कानुनमन्त्री नै न्यायालयको खिलाफ गर्दै हिँडेका छन्। यसलाई हामीले के भन्ने?’ उनले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाए। उनल भने,‘ हामीले पहिलै यो सरकार अधिनायकवादतर्फ अघि बढ्दैछ भनेका थियौँ। अहिले प्रस्ट हुँदै छ।’
उक्त निर्णय देउवा नेतृत्वको सरकारले हचुवाको भरमा नभइ कानुनसंवद्ध नियुक्ति गरेको उनको दाबी छ। केपी शर्मा ओलीको यो निर्णय कार्यान्वयन भए आफूहरू जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनले बताए। 

महामन्त्री डा. महतले सरकारले जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए। उनले भने,‘जनताले लामो समयपछि आफैँ स्थापित गरेको लोकतान्कि संविधान धरापमा परेको छ। जनताकै अधिकार रक्षा गर्न कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.