|

दमक (झापा) : लगातारको झरी पछिको बाढीका कारण झापाका ८ स्थानीय तहमा डुवान र कटानको जोखिम बढेको छ। जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यस्तै भद्रपुर नगरपालिका १ र २ तथा कन्काई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको जनाइएको छ। यसैबीच रतुवा खोलामा आएको बाढीले बिहीबार झापा, दमक-७ का दुई घर परिवार विस्थापित भएका छन्।

बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको परिवार विस्थापित भएका हुन्। विस्थापित श्रेष्ठको ४ कोठे पक्की घर र तिम्सिनाको घरको दक्षिण तर्फको भाग खोलाले कटान गरेको छ। श्रेष्ठ २०४७ सालदेखि सो ठाउँमा बसोवास गर्दै आएका थिए। केही दिन यता परेको अविरल वर्षाका कारण रतुवा खोला नजिकैका वस्तीहरू कटानको जोखिममा परेका स्थानीयबासीले बताएका छन्। वर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाइटी उपशाखा डुवानमा परेको छ। उपशाखाको कार्यालय भवन जलमग्न हुँदा जेनेरेटरमा क्षति पुगेको छ।

दमक ७ का वडाध्यक्ष भीम पौडेलका अनुसार बाढीले वस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस वस्तीका बसोबास गरी आएका दुई दर्जन बढी घरपरिवार प्रभावित भएका छन्। बढी कटान क्षेत्रमा परेको सो वस्तीको बिहीबार नै दमक नगरपालिकाको टोलीले अवलोकन समेत गरेको छ। अवलोकनमा नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायत सहभागिता थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.