विचार

नेपाली राजनीतिमा अधिनायकवाद
SHARES

असार २२, २०७५

    नेपाली कांग्रेसका नेताहरू अहिले अधिनायकवादको फोवियाबाट ग्रस्त छन्। यो राम्रो कुरा हो किनभने सत्ताबाहिर भएका कारण उनीहरूले अधिनायकवाद कस्तो हुन्छ भन्ने थाहा पाउन थालेछन्। गंगामायाको आमरण अनसनको जानकारी पनि उनीहरूलाई भएछ। गंगामायाको गलेको शरीर पनि हेर्न पुगेछन्। यो पनि राम्रो कुरा हो। डाक्टर गोविन्द केसीको अनसनको बारेमा मेरो कुनै टिप्पणी छैन। जति समाजसेवी भए पनि डाक्टरले आमरण अनसन गर्ने कुरालाई म केटाकेटी हठ भन्ठान्छु। सायद यो उहाँको पन्ध्रौँ वा सोह्रौँ अनसन हो। यसको अर्थ गंगामाया र डाक्टर केसी नयाँ परिघटना होइन। यो नेपाली कांग्रेसको नेतृत्वमा चलेको सरकारको पालादेखिको निरन्तरता हो। आफ्नो प्रधानमन्त्री स्वास्थ्यमन्त्री हुँदा रमिता हेरेर बसेको कांग्रेसले अहिले ती दुवै अनसनमा वर्तमान सरकार डाम्न खोज्नु भनेको आकाशतिर फर्किएर थुक्नु जस्तै हो।

    तर सत्य के हो भने, अहिलेको अधिनायकवाद २०४८/०५१ सालको ‘प्रजातान्त्रिक प्रजातन्त्र’ भन्दाचाहिँ कमजोरै छ। नेपालको विनाशलीला त्यही समयमा भएको थियो। उत्पादनशील र व्यावसायिक सफलतामा चलिरहेका उद्योगधन्दाहरू त्यतिबेला स्वाहा भएका थिए। बिचरो प्रतिपक्ष भाषण त चर्कै गर्थ्यो तर नेपाली कांग्रेसको सरकाले कानमा खै कस्तो बुझो लगाएको थियो, नेकपा एमालेका सांसदहरूले बोलेको शब्द त्यसको कानसम्म पुग्दैनथ्यो।

    बाँसबारी छाला जुत्ता कारखानालाई अनुत्पादक भनी कौडीको मोलमा कपिलवस्तुतिरका एक जना कांग्रेसी सांसदलाई बेचियो। उनले कपिलवस्तुमा त्यसको स्थापनाको जग्गा पनि देखाए तर कपिलवस्तुमा केही महिना आराम गरेर बाँसबारी छाला जुत्ता कारखाना भारतको कानपुरमा पुग्यो। कवाडी कारखाना कानपुरमा २०६५ सालसम्म चलिरहेको थियो। नाफामा परे बिचौलिया कांग्रेस सांसद, कमाउनेमा पर्‍यो कानपुरको कुनै जुत्ता कारखाना, नोक्सानीमा पर्‍यो नेपाल। 

    नेपाली कांग्रेसको नीजिकरणको नीतिले नेपाललाई तन्नमटाट बनाएको इतिहास, हाम्रो पुस्ताले कहिल्यै बिर्सन सक्दैन। किनभने त्यो अघोरी नीजिकरणको विरूद्ध हामीले संसद अवरूद्ध समेत गर्नु परेको थियो।

    जुन दिन नेपाल एयरलाइन्सको बोइङ विमान संचालन गर्न काम नलाग्ने भनी कुनै युरोपियन एजेन्टमार्फत बेचियो, त्यही दिनदेखि नेपाल एयरलाइन्स ओरालो लाग्न थालेको हो। दश/पन्ध्र वर्षसम्म चल्ने क्षमता भएको त्यो जहाजलाई कवाडी बनाएर कौडीको मोलमा बेचिएको थियो। यसमा पनि बिचौलियाको रूपमा काम गर्ने नेपाली कांग्रेसका परमप्रिय मित्र नाफामा परे। त्यो विमान सस्तैमा किनेर चलाउने मुलुक नाफामा गयो। घाटामा पर्‍यो नेपाल। नेपाली कांग्रेसको निजीकरणको नीतिले नेपाललाई तन्नमटाट बनाएको इतिहास हाम्रो पुस्ताले कहिल्यै बिर्सन सक्दैन। किनभने त्यो अघोरी निजीकरणको विरुद्ध हामीले संसद अवरूद्धसमेत गर्नुपरेको थियो।

    पढाइबाट सिक्न नसकिएको कुरा व्यवहारबाट सिकिन्छ। अहिले कांग्रेसका नेताहरू त्यही ज्ञान प्राप्त गरिरहेका छन्। त्यसैले मलाई खुसी लागेको हो। सत्ता भनेको वेश्या हो र त्यसलाई मनपर्दी ढंगले भोग्न सकिन्छ भन्ने अज्ञानताबाट कांग्रेस र कम्युनिस्ट मात्र होइन, नेपालका राप्रपा र मधेसी दलहरू मुक्त हुनुपर्छ। आफैँ शासन चलाउनसक्ने क्षमता भएका र मौका पर्ने मन्त्रीको जागिर खाने सबैले आफूहरू संसद र सत्ताका मालिक होइन, जनताका नोकर हौँ भन्ने ज्ञानबाट दीक्षित हुनुपर्छ। विशेष गरेर नेपाली कांग्रेसले ०४८ सालको चुनावी प्रचारमा गाउने गरेको ‘कम्युनिस्टले साठी वर्षमाथिका बुढाबुढीलाई मार्छन्’ भन्ने जस्तो वितण्डाबाट आफूलाई बाहिर निकाल्दैनन्, तबसम्म उनीहरू प्रजातान्त्रिक पार्टीका प्रतिनिधि हुनै सक्दैनन्।

    हामी धेरैमा के भ्रम छ भने विश्व बैंकले हामीलाई पनि सहयोग गर्छ, सहुलियत दरमा ऋण दिन्छ। त्यो हाम्रो सपना हो, यथार्थ यस्तो होइन।

    तर दुःखको कुरो, अहिले पनि उनीहरू त्यही वितण्डामा रमाइरहेका छन्। नाकाबन्दी, सर्लाहीको तिलाठीमा भएको घुसपैठ, अहिले कंचनपुरमा चलिरहेको भारतीय अर्धसैनिकको ताण्डवमा नेपाली कांग्रेसको मौनताले कसको समर्थन गरिरहेको छ भनेर म लेख्न गइरहेको छैन। भारतको विरोध जस्तो लाग्ने मुद्दाहरूमा नेपाली कांग्रेको मौनब्रत सबै नेपालीले बुझेको विषय हो। 

    अहिलेको मेरो चासो भनेको वर्तमान सरकारको अधिनायकत्व हो। कांग्रेसले बुझेको अधिनायकत्वको पहिलो मुद्दा सार्वत्रिक विरोध प्रदर्शनमाथिको बन्देज हो। तर यो त भारत र बेलायतबाट आयात गरिएको प्रजातन्त्रकै निरन्तरता हो। भारतको दिल्लीमा पनि विरोध प्रदर्शनको केन्द्र जन्तरमन्तर मात्रै हो भने बेलायतको हाइड पार्क हो। त्यहाँ पनि जथाभावी सडक जाम गर्न पाइँदैन। तोकिएको स्थानबाहेक अन्यत्रको अस्तव्यस्ततालाई कांग्रेसले मानी आएका सबै प्रजातान्त्रिक मुलुकले निषेध गरेका छन्। वर्तमानको नेकपा सरकारले निरन्तरता दिएकोमा आपत्ति जनाउने वा विरोध गर्ने त हामी जस्ता नागरिकले पो हो। कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेर ‘आफ्ना मित्रहरूको ट्रेडमार्कलाई कम्युनिस्ट पार्टीको सरकारले जस्ताको तस्तै स्वीकार गरेकोले धन्यवाद ज्ञापन गरिन्छ’ भन्ने प्रस्ताव पारित गर्नुपर्थ्यो।

    पुँजीवाद वर्गीय शासन हो। त्यो पुँजीवादलाई उपयोग गर्दै समाजवादी बाटोमा जाने सिद्धान्त हो, नेकपा एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद। अहिलेको नेपालमा दलाल पुँजीवादको पक्षमा जमेर लागेको पार्टी नेपाली कांग्रेस हो भने दलाल पुँजीवादलाई कमजोर पारेर राष्ट्रिय पुँजीवादलाई शक्तिशाली बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ भन्ने सिद्धान्त बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो। पुँजीवादका यी दुई धारको प्रतिनिधित्व गर्ने भएको हुनाले नेपाली कांग्रेस कहिल्यै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको पक्षमा उभिन सकेन। यही कारणले नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादको पक्षमा जान सकेन।

    म विश्व बैंक, अरुण, नेकपा एमालेको सरकार र कांग्रेसको वितण्डाका बारेमा केही लेख्न चाहन्नँ। अरुण, माधव नेपालको पत्रको कारण गुमेको होइन, त्यो गुमेको हो- नेपाल सरकारमा आएको ठूलो परिवर्तनका कारण। यहाँ दलाल पुँजीवाद कि राष्ट्रिय पुँजीवादको लडाइँका कारण गुमेको हो। हामी धेरैमा के भ्रम छ भने विश्व बैंकले हामीलाई पनि सहयोग गर्छ, सहुलियत दरमा ऋण दिन्छ। त्यो हाम्रो सपना हो, यथार्थ यस्तो होइन।

    पुरानो कुरो छाडौँ। नेपाल नयाँ भएको छ र हामीले त्यही नयाँ विषय समात्नुपर्छ। नेपाली मानसमा विस्तारै राष्ट्रिय पुँजीको विकासप्रति चासो बढ्दै छ। सासाना कुराले यसको संकेत गरिरहेका छन्। दातृ निकायको व्यवस्थापनमा नेपाल सरकारका मन्त्री र कर्मचारीहरू विदेश भ्रमणमा जान नपाउने, सर्वोच्च अदालतले दातृ निकायको ऋण तथा अनुदान स्वीकार नगर्नेजस्ता स्वाभिमानको पक्षमा उभिएका निर्णयहरू राष्ट्रिय पुँजीवाद पक्षधर निर्णय हुन्। परिस्थितिले पनि अहिलेको सरकारलाई साथ दिएको छ। रेमिट्यान्स घटेको छ। यो राम्रो कुरा हो। किनभने विदेशमा सिकेको श्रम-सीप नेपालमा उपयोग हुन थालेको छ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]