मनोरञ्जन

'टोकियो डोम सिटी हल'मा गुन्जियो नेपथ्य
SHARES

असार २४, २०७५

    टोकियो : जापानमा रहेका नेपाली संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थितिका बीच नेपथ्यले ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गरेको छ। अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरूसमेत कन्सर्टमा सहभागी देखिन्थे। उनीहरू मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ।

    ‘नेपालमा दुर्इपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’  हानाइ भनिरहेका थिए,  ‘नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा मलाइ रमाइलो अनुभूति भइरहेको छ ।’

    नेपाली भाषासमेत सिक्ने कोशिस गरिरहेका कियोहितो आफ्नो मुटुमा नेपालका निम्ति विशेष स्थान रहेको बताउँछन्। नेपथ्यलगायत अन्य नेपाली गीतहरूले आफूलाई नेपाली भाषा र संस्कृति बुझ्न मद्दत गरिरहेको उनले सुनाए। कियोहितो कुनै दिन नेपाल पुगेर त्यतै बस्न पनि चाहन्छन्।

    जतिबेला उल्लेख्य संख्यामा नेपाली तन्नेरीहरू कुनै हिसाबले जापान पुग्न चाहिरहेका छन् त्यतिबेलै कियोहितो चाहिँ नेपालप्रति आकर्षित हुनुको कारण के हो?

    ‘म नेपालीहरुले जस्तै जिन्दगी जिउन चाहन्छु,’ उनले भने, ‘जापानमा अवसर भएता पनि विहानदेखि बेलुकीसम्म घडी हेरेर मेशिनले जस्तो बाँच्नुपर्ने अवस्था छ।’ आफू नेपाल पुगेका बेला त्यहाँका मानिस जीवनसँग नजिक रहेको र हाँसिखुशी बाँचेको देखेर प्रभावित भएको उनले सुनाए।

    सन् २०१५ मा महाभूकम्प गएपछिका तस्विरहरू संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो। ब्याण्डले उक्त भूकम्पकै ताका, पूर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्पपीडित समर्पित कार्यक्रमको रूपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो।

    ‘तीन वर्षअघि हामी समवेदना बाँड्न तपार्इहरूसामू प्रस्तुत भएका थियौँ,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाँड्न तपार्इहरूसामू उभिएका छौँ।’ नेपथ्य स्थापनाको २५ वर्ष पुगेका अवसरमा रजत जयन्तीको खुशी साटासाट गर्ने क्रममा आफू जापानका दर्शकसामू उपस्थित भएको अमृतले उल्लेख गरे।

    कन्सर्ट, त्यसपछि निरन्तर रमाइलो क्षणबाट गुज्रियो। ‘भेँडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरू ‘शिरफूल’ र ‘कोशीको पानी’सम्म प्रस्तुत भए।

    दर्शकदीर्घामा अमर गुरुङ पनि थिए। उनी आवद्ध संस्था तमुधिं जापानले सन् २०१५ को नेपथ्य कन्सर्ट आयोजना गरेको थियो। ‘जापान बसेको २० वर्षमा मैले नेपालबाट आएका धेरै कार्यक्रम हेर्ने मौका पाएँ,’ उनी भनिरहेका थिए, ‘नेपथ्यले दिएको प्रभाव चाहिँ बेग्लै र स्तरीय रह्यो। प्रारम्भमा निकै उकाली ओह्राली बेहोरेको भएता पनि यसका मुख्य गायक अमृतले एउटा स्तरमा ब्याण्डलार्इ निरन्तरता दिइरहेका छन्।' नेपथ्य विदेशमा बसेका नेपालीका  निम्ति गर्वको विषय बनेको उनले सुनाए।

    जतिबेला नेपालमा मनसुन चलिरहेको छ त्यतिबेलै जापानमा बाढीको प्रकोप छ। अमृतले कन्सर्टकै बेला यो कुरालाई पनि जोडे। ‘ठीक यतिबेला बाढीको प्रकोप हामी कहाँ पनि चलिरहेको छ,’ उनले भने, ‘जापानमा पनि पीडितहरूको अवस्था देखेर मलाई उत्तिकै नरमाइलो लागिरहेको छ।’

    यो प्राकृतिक प्रकोप व्यवस्थापन गर्न जापानमा चालिएका कदमले आफूलाई प्रभावित पारेको उनले सुनाए। ‘नेपालमा यो प्रकोपका बेला हाम्रा दाजुभाइहरूको ज्यानै गइरहेको छ,’ अमृतले भने, ‘कुनै दिन तपार्इहरू नेपाल आएर जापानमा जस्तै प्रविधिको प्रयोगले उनीहरूको रक्षा गरिदिनुहुनेछ भन्ने कामना गर्छु।’

    रमाइलो कै बीच कन्सर्ट सामाजिक परिवेशमा प्रवेश गर्‍यो। ‘डा गोविन्द केसीले उठाएका मुद्दाहरू यहाँ आएर पनि सुनाउनु पर्दा मलार्इ एक किसिमको हीनताबोध र दुःख महशुस भइरहेको छ,’ उनले भने, ‘केसी मात्र होइन, हामी सम्पूर्ण नेपालीहरू पटक–पटक ठगिएका छौँ।’ एउटा सन्तजस्तो चिकित्सकले बारम्बार अनशन बसेर ज्यान जोखिममा पार्दा यसले सम्पूर्ण नेपाली समाजलाई गिज्याएको उनले दुःखेसो पोखे। ‘जतिबेला म टोकियोमा तपार्इहरूका सामुन्ने गाइरहेको छु,’ उनले भने, ‘ठीक यतिबेला उनी १५औं पटक नेपालीहरूको जीवनरक्षाका निम्ति भोक हडताल बसिरहेका छन्।’ अमृतले त्यसपछि उनै डा केसीको पक्षमा ऐक्यवद्धताको आव्हान गर्दै श्याम तमोटको गीत ‘गाउँ गाउँबाट उठ’ प्रस्तुत गरेका थिए।

    ‘पछिल्लो समय जापानमा आयोजित नेपाली कार्यक्रमहरू मध्येकै यो सबैभन्दा ठूलो बन्न पुगेको छ,’ आयोजक समूह गोरेटो प्रोडक्सन्सका कृष्ण थापाले भने, ‘दर्शक सहभागिता मात्रै होइन, टोकियो डोम सिटी हल जस्तो विश्वस्तरको कार्यक्रम स्थलमा ब्याण्ड व्यवस्थापनले समायोजन गरेको स्तरीय प्राविधिक संयोजन र ब्याण्डको अब्बल प्रस्तुतिले सबैको लागि अविश्मरणीय यस कार्यक्रमको आयोजक हुन पाएकोमा हामी हर्षित छौँ।’

    ‘विश्वका प्रतिष्ठित कार्यक्रम स्थलहरूमा नेपाली कार्यक्रम उभ्याउँदै हिँड्दा जापानमा पनि एउटा कोशेढुंगा कायम हुनपुगेको छ,’ नेपथ्यलाई व्यवस्थापन गर्ने नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘टोकियो डोम सिटी हल एउटा प्रतिष्ठित स्थान हो जहाँ नेपाली संगीत सुनाउन पाउँदा गौरव अनुभूति भएको छ।’

    कार्यक्रममा विभिन्न पृष्ठभूमिमा जापान बसिरहेका नेपाली दर्शकको बाक्लो उपस्थितिमाझ जापानको लागि नेपालका राजदूत प्रतिभा राणा पनि थिइन्। 'नेपालबाट यति टाढा रहेर नेपालको प्रतिष्ठित सांगीतिक समूह नेपथ्यको प्रस्तुति हेर्न पाउनु यहाँ उपस्थित समस्त दर्शकको लागि सुखद संयोग हो', राजदूत राणाले भनिन्। 

    मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

    कार्यक्रम सम्पन्न भएपछि नेपथ्यका अगुवा अमृत गुरुङले टोकियो कार्यक्रमको लागि धन्यवाद दिँदै ट्विट गरे, ‘धन्यवाद टोकियो… कुनै समय ४२ दर्षक माझ प्रस्तुती दिनु परेको पीडा गाँसिएको यस महानगरमा, गतिलो ठाउँमा व्यवस्थित प्रस्तुति दिने एक कुन्ठो थियो, टोकियो डोम सिटी हलमा आज पूरा भयो… सबै आयोजक र दर्शकमा नेपथ्यको हार्दिक धन्यवाद। यस्तो माया पाउने हामी कस्तो भाग्यमानी।’   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]