|

बैतडी : बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन्।

गत फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। रकम कम विनियोजन भएकाले चालु आर्थिक बर्षमा समयमै सुत्केरी भत्ता दिन नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए। 

स्वास्थ्य संस्थामा बच्चा जन्माए बापत एक हजार र चार पटक गर्भजाँच गराए बापत चार सय गरी सुत्केरी आमालाई एकमुष्ट एक हजार चार सय दिइन्छ। सुत्केरी आमालाई समयमै भत्ता दिन नसकिएको सकार स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्रराज भट्टराईले जानकारी दिए।  बैतडीमा एक वर्षमा ६ हजार बढी आमा सुत्केरी हुने अनुमान छ। सुत्केरी भए बापत आमाहरुले पाउने रकम समयमै नपाउनाले समस्या भएको स्वास्थ्य संयोजकहरुले जनाएका छन्।

फागुनदेखि सुत्केरी भत्ता वितरण गर्न नसकेको र अब एकैचोटी दिने तयारी गरेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले जानकारी दिए। जिल्लाभरीका स्वास्थ्यसंस्थाबाट पाउनुपर्ने सुत्केरी भत्ता पछिल्लो समयमा रोकिएको स्वास्थ्य संस्थाहरुले जनाएका छन्। हचुवाका भरमा रकम विनियोजन भएकाले अहिले समस्या भएको हो। सुरक्षित मातृत्व नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएपनि यसलाई व्यवस्थित गर्न नसक्नु सरकारी कमजोरी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.गुणराज अवस्थीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.