|

काठमाडौं : कांग्रेस पदाधिकारी तथा कांग्रेसका पुराना नेताको अन्तरक्रियामा प्रधानन्याधीशमाथि महाअभियोग तथा आइजी प्रकरणले गर्दा कांग्रेसले चुनावमा ठूलो हार बेहोर्नुपरेको कुरा उठेको छ। काठमाडौंमा सोमबार भएको सो कार्यक्रममा नेता दामोदर गौतमले सभापति शेरबहादुर देउवालाई आइजी प्रकरण र महाअभियोग प्रकरणले गर्दा चुनाव हार्नुपरेको विश्लेषण सुनाएका थिए।

तर सभापति देउवाले उक्त आरोपको प्रतिवाद गरेका छन्। देउवाले त्यो बेला डिआइजी बढुवामा नम्बर दिनेहरुलाई सोधेरै मूल्यांकनका आधारमा आइजी नियुक्त गरिएको बताए। ‘आइजी नियुक्त गर्ने काम सरकारको होइन? न्यायाधीशले आइजी बनाउने हो?,’ देउवाले कड्किएर भने, ‘आइजिपी बनाउने काम सरकारको हो भनेर लडेका हौँ।’ साथै उनले टिकट वितरणमा सबै नेताहरू लागेकोले अहिले हारको जिम्मेवारी आफ्नो थाप्लोमा नहाल्न पनि आग्रह गरे। स्थानीय तहमा जिल्लालाई अधिकार दिएको भए नतिजा फरक पर्नेमा केन्द्र त्यो विषयमा चुकेको बताए। साथै उनले चुनावमा पार्टीभित्र थुप्रै अन्तर्घात भएकोले अन्तर्घतीलाई कारबाही गरेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेस एक ढिक्का हुनुपर्ने बताए। ‘अन्तरघातले पार्टी हारेको हो, अब एक ढिक्का हुनुपर्छ,’ उनले देउवातिर फर्किएर भने, ‘बुद्धिमानीलाई इसारै काफी हुन्छ।’ सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध कांग्रेसले नैतिक दबाब दिनुपर्नेसमेत पौडेलले बताए। निर्वाचनमा भोगेको पराजयको चिन्तन सबै नेताहरूले गर्नुपर्ने समेत उनले बताए।

सोही कार्यक्रममा बोल्दै नेता विजयकुमार गच्छदारले आफू फेरि पनि कांग्रेस छोडेर जान सक्ने संकेत गरेका छन्। उनले आफू कांग्रेसमा आउँदै गर्दा भएका सहमितहरू अहिलेसम्म पनि पूरा नभएको बताए। ‘म पहिले पनि कांग्रेस छोडेर गएकै हो, कांग्रेस आफैँ पनि फुटेर प्रजातान्त्रिक बनेकै हो,’ उनले भने, ‘तत्कालीन फोरमका प्रभावशाली नेताहरूलाई सहमतिबमोजिमका अवसरहरू नदिइएमा कांग्रेस छोड्न सक्ने अवस्था आउन सक्छ।’ गच्छदारले आफूलाई चुनाव अघि प्रचण्ड र केपी ओलीले बोलाएको भए पनि आफू लोकतन्त्र रक्षाका लागि कांग्रेसमा आएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.