|

चितवन : वर्षा र गर्मीको मिश्रण लामखुट्टेका लागि निक्कै उत्तम मौसम भएकाले लामखुट्टेकाे टाेकाइबाट बच्न चिकित्सकले सुझाव दिएका छन्। विभिन्न रोगहरू लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने चिकित्सकको भनाई छ।

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले गर्मी र पानीको समिश्रण र यो समयमा भौतिक निर्माणले खाल्डाखुल्डी समेत बढ्ने हुँदा लामखुट्टे हुर्कन ठूलो सहयोग गर्ने बताए। डेंगु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ।

डेंगु मात्रै होइन, हात्तीपाइले, जापनिज इन्सेफ्लाइटिस, मलेरिया, लगायत रोग लामखुट्टेबाटै सर्छ। डा.अधिकारी भने,‘ यो समयमा लामखुट्टेबाट बच्न भनेको धेरै रोगबाट बच्नु हो।’ लामखुट्टेबाट सर्ने रोग बाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस, लेप्टो स्पाइरा पनि यही बेलामा बढी संक्रमण हुने डा.अधिकारीले बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले रहेको भन्दै डेंगु संक्रमण बढ्ने समेत आएकाले सचेत हुन सबैसाधारणलाई आग्रह गरे। हरेक साउनदेखि कार्तिकसम्म डेंगु रोग लाग्ने खतरा हुन्छ। त्यसैले जिल्लाका विभिन्न स्थानीय तहसँग मिलेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गरिएको उनले बतााए। क्लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा. दीपेन्द्र खतिवडाले गर्मी र पानीसँगै लामखुट्टेको प्रजनन क्षमतामा बृद्धि हुने भएकाले मलेरिया, डेंगु लगायत अन्य रोगको संक्रमण हुने भन्दै लामखुट्टे हुर्कने अवस्था नदिन आग्रह गरे। 

घर वरपर सरसफाई गर्ने, झाडी हुन नदिने र पानी जम्न नदिने लगायतमा उपाए अपनाउनुपर्ने उनको भनाई छ। अहिलेको गर्मी मौसममा खानेकुरा, पानी र हावामा बढी संक्रमण हुन्छ। यो बेला झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, स्क्रब टाइफस, डेंगु, मलेरिया, जापनिज इन्सेफलाइटिस, चिकनगुनियाको संक्रमण हुन सक्ने चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले भने। गर्मीमा सरुवा रोग नै बढी हुने उनको भनाई छ।

गर्मीले खानामा छिटो संक्रमण हुने हुँदा फुड पोईजन हुने खतरा बढीहुन्छ भने वातावरण प्रदुषणले विभिन्न सरुवा रोग निम्तिने डा लाम्सालले बताए। यस्तै टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने संक्रमण देखिन्छ भने किरा, फट्याँङग्रा, उडुस, उपियाँ लगायतले टोक्ने र विभिन्न छालाको एलर्जी र किटजन्य रोगहरू देखिन्छन्। बालबालिकामा संक्रमण बढी हुने भएकाले उनीहरूको स्वास्थ्यमा ख्याल गर्नुपर्छ। मुख्यतया स्वयं व्यक्तिले विशेष सावधानी अपनाउने हो भने धेरै रोगहरू नलाग्ने चिकित्सकको भनाई छ। ज्वरो आए, कुनै संक्रमण भए चिकित्सकको सल्लाहमा औषधि लिन समेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

पानी उमालेर खानुपर्ने, सफा र ताजा खानेकुरा खानुपर्ने, घरवरपर सरसफाई गर्नुपर्ने लामखुट्टेको टोकाईबाट बच्नुपर्ने र बाहिर हिंड्दा पूरा ढाकेको कपडा लगाउनुपर्ने, खेतबारीमा काम गर्दा पनि लामो बाउला भएको लुगा लगाएर काम गर्नुपर्ने, राम्ररी सरसफाइमा बस्नुपर्ने र हात धोएर खानुपर्ने चिकित्सकको सुझाव छ।

वर्षाको समयमा पानीमा ढल मिसिने सम्भावना बढ्छ। पानी दुषित हुने र वातावरण समेत प्रदुषण भएर  हैजा, झाडापखाला, हेपाटाइटिस ए, एलर्जी लगायतको संक्रमण हुन सक्ने कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा. दीपेन्द्र बताउँछन्।  चितवनको हकमा भन्नुपर्दा सर्प समेत बस्तीमा आउने तथा वन्यजन्तुहरू समेत बाहिर निस्किने भएकाले पनि यसतर्फ पनि सचेत हुन डा. खतिवडाको आग्रह छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.