|

ताप्लेजुङ : जिल्लाको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ४९ करोड ८६ लाख ८ हजार रुपैयाँको बजेट आइतबार पारित गरेको छ। संघबाट पाप्त हुने ४६ करोड २४ लाख ९२ हजार ४००, प्रदेशबाट दुई करोड १६ लाख १४ हजार र फुङलिङ नगरपालिकाबाट एक करोड ४५ लाखको बजेट तेश्रो नगरसभाले पारित गरेको हो। बजेट सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले बताए।

नगरपालिकाले चालुतर्फ ३२ करोड ६७ लाख ४५ हजार ४०० र विकास (पुँजीगत) तर्फ १७ करोड १८ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ। चालुतर्फ ६५.३५ प्रतिशत बजेट छुट्याउदा विकासतर्फ भने ३४.४७ प्रतिशत मात्रै छुट्याइएको हो। सामाजिक सुरक्षा भक्ता र सशर्त अनुदानको ठूलो रकम चालुतर्फ समावेस भएकाले बजेट बढ्न गएको नगरपालिकाले प्रष्ट्याएको छ। सामाजिक सुरक्षा भक्तामा तीन करोड ६९ लाख ३८ हजार चार सय रुपैयाँ राखिएको छ।

नगरपालिकाले पदाधिकारीको  सेवा सूविधामा एक करोड दुई लाख ७६ हजार रुपैयाँ छुट्याएको छ। कर्मचारीको पारिश्रमिकमा तीन करोड ६८ लाख ४८ हजार गरी पदाधिकारी र कर्मचारीको सुविधा तथा पारिश्रमिकमा चार करोड ७१ लाख २४ हजार रुपैयाँ खर्च हुने भएको छ। कार्यालय सञ्चालन तथा ब्यवस्थापनमा दुई करोड ७० लाख ३२ हजार छुट्याइएको छभने वडा कार्यालयको प्रशासनिक खर्च ३८ लाख ५० हजार रुपैयाँ रहेको छ। नगरपालिकामा ११ वटा वडा रहेका छन्। कार्यालय ब्यवस्थापनमा ९९ लाख रुपैयाँ छुट्याइएको छ। यो पुँजीगततर्फको ब्यवस्थापन खर्च रहेको उल्लेख छ। नगरस्तरिय योजनामा चार करोड ५९ लाख ६१ हजार, लक्षित कार्यक्रममा एक करोड, विषयगत कार्यक्रममा एक करोड १९ लाख छभने समपूरक कोषमा दुई करोड रुपैयाँ रहेको छ।

नगरस्तरीय पूँजीगत कार्यक्रममा एक करोड, सशर्त अनुदानमा २१ करोड १८ लाख सामाजिक सुरक्षामा तीन करोड ६९ लाख ३८ हजार ४०० र वडाको बजेट छ करोड ४१ लाख रहेको छ। नगरपालिकाले श्रोतभने समानीकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, आन्तरिक आयलाई लिएको छ। फुङलिङ नगरपालिकाले आन्तरिक आयबाट ८० लाख र अनुमानित अल्यामा ६५ लाख रुपैयाँ राखेको छ। राजश्व बाँडफाँडबाट सात करोड ३४ लाख ७० हजार प्राप्तहुने अनुमान छ।

आफ्नै लागि आफ्नै चिया

अधिकांस फुङलिङ नगरवासीको परम्परागत पेशा कृषि भएकाले यसलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउँदै लैजाने, परम्परागत श्रम र सीपको उपयोग गर्दै आधुनिक उपकरण र प्रविधि अपनाउने, कृषि प्रसार तथा प्राविधिकहरूको सेवालाइ कृषकको पहुँचमा पुर्याउने नीति अपनाइने नगरपालिकाले वताएको छ। नगरलाइ क्रमशः तरकारी र फलफुलमा आत्मनिर्भर वनाउन स्थानीय कृषक समुहहरूको अगुवाइमा तरकारी फलफुलको पकेट तथा ब्लकहरूको लागि अनुदानको व्यवस्था गरी निरन्तरता र  विस्तार गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

आफ्नो लागि आफ्नै चिया भन्ने नीति अवलम्वन गरी सबै नगर वासीहरूलाइ चिया रोप्नका लागि प्रोत्साहन गर्न नि:शुल्क चियाको विरुवा वितरण गरिने नगर प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए। उनका अनुसार नगरलाइ अण्डा, मासु तथा दुग्ध पद्धार्थमा आत्मनिर्भरता हासिल गर्ने लागत सहभागिताको आधारमा अनुदानको व्यवस्था गरिने छ।

यसैबीच सरोकारवालाहरूसँगको सहकार्यमा पाथीभरा क्षेत्रलाइ धार्मिक पर्यटनको रूपमा विकास गर्ने नीति लिइएको नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.