|
फाइल फोटो

गोरखा : आफ्ना छोराको हत्यारालाई सजायको माग गर्दै अनशन बसिरहेकी गंगामाया अधिकारीका अर्का छोरा नुरप्रसाद अधिकारी सम्पर्कबाहिर रहेको वर्षौंपछि खोजी गर्न नागरिक समाजले आवाज उठाएका छन्। भाइ कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै चितवन जिल्ला अदालतमा किटानी जाहेरी दिएका नुरप्रसाद आफैँ बेपत्ता भएपछि नागरिक समाजले चासो देखाएका हुन्।

छोरा कृष्णप्रसाद अधिकारीकीको हत्यारालाई कारबाहीको माग राख्दै अनशन बसेका बाबु नन्दप्रसादको मृत्यु हुनुभन्दा करिब दुर्इ वर्षदेखि बेखबर भएका नुरप्रसादको खोजी गर्न गृहमन्त्रालयले आलटाल गरेको यहाँका मानव अधिकारकर्मी तथा नागरिक समाजले आरोप लगाएका छन्।

गृहमन्त्रालय मानवअधिकार प्रवर्द्धन शाखाले बुधबार गोरखामा गरेको गोष्ठीमा सहभागी मानवअधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारीले फुजेल घटनाका कृष्णप्रसाद अधिकारी, उनकी आमा गंगामाया, बाबु नन्दप्रसाद र दाजु नुरप्रसादलाई गृहमन्त्रालयले बिर्सन नहुने तर्क गरे। लगत्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष किशोरजंग थापाले आफ्ना भाइको हत्यारालाई कारबाहीको माग गरेर विभिन्न सरकारी अड्डा धाउने नुरप्रसाद कहाँ गए भन्दै गृहन्त्रालयलाई प्रश्न गरे।

‘आफ्ना भाइ कृष्णप्रसादको हत्यारालाई कारबाही गर्न माग गर्ने नुरप्रसाद आज एकाएक कहाँ गायब भए’ अध्यक्ष थापाले भने ‘आफ्ना बाबु आमालाई अनशनमा राखेर हत्यारालाई पत्ता लगाएरै छोड्ने भन्दै सिंहदरबार, मन्त्रालय, जिल्ला प्रशासन, अस्पताल धाउने नुरप्रसाद आज रहस्यमय ढंगले गायब भएका छन्। उनलाई गृहमन्त्रालयले खोजी गर्नुपर्दैन?’

अध्यक्ष थापाले गृह मन्त्रालयका सहसचिव सुशिल कोइरालाई इंकित गर्दै भने, ‘अनशन बस्दै गर्दा आफ्ना बाबुआमा मरे भने उनीहरूकै लाश राखेर आफू अनशन बस्छु भनेर चेतावनी दिने व्यक्ति आज बेखबर भएको खबर सरकारलाई नै थाहा छ तर, किन खोजी गर्दैन सरकार?’ जिल्ला प्रहरी कार्यालय गोरखामै आमरण अनशन बसेका नुरप्रसाद र गंगामायालाई उपचार गराउन भन्दै जिल्‍ला प्रशासन कार्यालयले काठमाडौं पुर्‍याएको थियो।

‘अनशन बसेकी गंगामायाको त चर्चा भइरहेको छ’ अध्यक्ष थापाले भने ‘तर, उनकै अर्का छोरा नुरप्रसादको खोजीको चासो कसैलाई छैन।’ नुरप्रसाद आफ्ना बाबु आमालाई काठमाडौं लिएर जाँदैगर्दा भाइको हत्यारालाई पक्राउ गरेर कारबाही नगरे तत्कालीन माओवादीका नेता प्रचण्ड र डा.बाबुराम भट्टराईलाई गोली हान्ने धम्की दिएर बिदा भएको अध्यक्ष थापाले सम्झना गरे।

अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही हुनु पर्ने माग गर्दै दस वर्षदेखि संघर्षरत गंगामाया माग पूरा नभएसम्म पतिको लाश जलाउन नदिने र आफू पनि यो भद्र आन्दोलनबाट पछि नहट्ने पक्षमा छिन्। अधिकारी दम्पतीले आमरण अनशन सुरु गरेपछि सरकारले बाध्य भएर दुई वर्षअघि मुद्दा दायर गरेको थियो। तर पक्राउ परेका अभियुक्तलाई चितवन जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै पूर्पक्षको आदेशमा छाडिदिएपछि गंगामाया पुनरावेदन हुँदै सर्वोच्च अदालतमा निवेदन लिएर आइन्।

नेकपाका जिल्ला नेता यादव बस्नेतले भने नुरप्रसाद आफ्नै स्वभावले गुमनाम भएको तर्क गरे। ‘नुरप्रसाद आफ्नै स्वभावले गुमनाम भए, जे जस्तो भए पनि सत्यतथ्य छानबिन र खोजी हुनु जरुरी छ।’

गृहमन्त्रालय, मानवअधिकार प्रवर्द्धन शाखाका सहसचिव सुशील कोइरालाले अधिकारीको बारेमा कहिँकतैबाट चासो देखाएर निवेदन नपरेकोले निवेदन दिन आग्रह गरे। कोइराला गंगामायाँको अनशनप्रति त्यत्ति खुल्न चाहेनन्। कोइरालाले स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै आमरण अनशन बसेका डा. गोविन्द केसी सरकारी कर्मचारी भएर हड्तालमा उत्रनु उचित नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.