|
फोटो : धुर्मुस सुन्तली फाउन्डेसनको फेसबुकबाट

काठमाडौं : विगतका वर्षमा गाईजात्रा सुरु भएपछि बढेको सिताराम कट्टेल 'धुर्मुस' को व्यस्तता दशैंमा आएर टुंगिन्थ्यो। उनी दशैं लाग्नासाथ झापा गौरादहस्थित घर पुग्थे। साथिभाइले समय दिन सकेन भनेर गुनासो गर्ने भएकाले उनी दशैंमा टिका थाप्न घर गएका बेला आफन्तसँग मज्जाले समय बिताउँथे। दशैंका बेला साथीभाइसँग रमाइलो गर्थे। धुर्मुसले २०६९ सालको दशैं बेलायतमा मनाएका थिए। यसबाहेक  बाबु-आमाको हातबाट टिका थाप्न उनी जसरी पनि घर पुगेका हुन्थे।

यसपटक शहरमा गाईजात्रा लाग्दा हास्यँव्यङ्ग्य गर्न खप्पिस धुर्मुस कुनै कार्यक्रममा सहभागि भएनन्। उनी सिन्धुपाल्चोकमा बसे।  दशैं लागिसक्यो, तर अझै धुर्मुस काठमाडौं फर्किएका छैनन्। झापा जाने उनको योजना नै बनेन। सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्प पीडितका लागि नमूना बस्ती बनाएरै छाड्ने अठोट लिएका धुर्मुस काठमाडौं आउनेछन्,तर केवल बाबु-आमाको हातबाट टिका थाप्न,'यसपटक बाबु-आमालाई काठमाडौं बोलाएको छु। झापामा रहेका साथिभाईलाई भेट्न नपाइने भयो।' टेलिफोन कुराकानीमा धुर्मुसले भने।

दशैंमा घर जान नपाउँदा उनलाई पीडा छैन। भन्छन्, 'यो पालीको दशैं गिरान्चौरमय भयो। गिरान्चौरका भूकम्प पीडितका लागि घर बनाउदै उनीहरुसँग नै दशैं मनाउन भन्दा आनन्द के हुन्छ होला र?' उनले थपे, 'मिस्त्री, ईन्जिनियर तथा स्थानीयवासीहरु  मिलेर यसपालीको दशैं मनाउँदैछौ। दशैंको समयमा पनि हामी ३ सयजना अहोरात्र काममा खटिरहेका छौं।'

विगतका दशैंमा जस्तो रौनकता यसपालीको दशैंमा नभएको उनी बताउँछन्। ‘मेरो ध्यान काम कसरी सक्ने भन्नेमा छ। उनले भने,'नेपालमा बोलेको समयमै काम पुरा नगर्ने संस्कार छ। हामीले आफ्नो बोली कायम गर्नका लागि हर-संभव प्रयास गर्‍यौ। तर प्रकृतिलाई जित्न सकिएन। त्यसैले यहाँका जनताको साझा अभियान  समयमै पुरा हुन सकेन।'

यसअघि 'धुर्मुस- सुन्तली फाउन्डेशन' ले ६५ घर बनाएर स्थानीयवासीलाई घटस्थापनाको दिन हस्तान्तरण गर्ने घोषणा गरेका थिए। तर झरीका कारण समयमै काम सम्पन्न हुन नसकेपछि उनले सर्वसाधारणसँग माफि मागिसकेका छन्। धुर्मुसको यस अभियानमा देश-विदेशबाट पर्याप्त आर्थिक सहयोग मात्रै प्राप्त भएको छैन, सर्वसाधारणले श्रमदान समेत गरेका छन्।

मेरो दशैँ बस्ती हस्तान्तरण गरेको दिन

'बुबा-आमालाई काठमाडौं बोलाएको छु। दशैंको टिका लगाउन काठमाडौं आउँछु। बुबा-आमाको हातबाट थापेपछि गिरान्चौर फर्कन्छु' धुर्मुसले भने। उनले यसपालीको वास्तविक दशैं गिरान्चौर बस्ती हस्तान्तरण गरेको दिन हुने बताए। धुर्मुसले भने 'कसरी काम छिटो सक्ने भन्नेमा मात्र ध्यान छ। यो बस्ती हस्तान्तर गरेको दिन हाम्रो दशैं हुनेछ।'

जसका लागि  उनले तिहारसम्म गिरान्चौरका नयाँ घर स्थानीयवासीलाई हस्तान्तरण गर्ने लक्ष्य राखेका छन्। धुर्मुस भन्छन्, 'तिहारभन्दा अगाडी हस्तान्तरण गर्ने भनेर दशैंमा समेत काम नरोकेर लागेका छौं।'

सपना गिरान्चौर सिटी

भूकम्पले घर भत्किएपछि आहात बनेका नेपाली जनतालाई राहत दिलाउन धुर्मुस निरन्तर खटेका छन्। उनले यसअघि काभ्रेको पाँचखालस्थित सिमान्तकृत  पहरी बस्तीमा १८ घर परिवारका लागि नमूना बस्ती निर्माण  गरेका थिए। पहरी बस्तीमा १८ घर, २ वटा अतिथि गृह, ५ वटा बायो ग्याँस,२१ शौचालय,२० वटा खानेपानीको धारा र २० वटा 'डिस होम्स' जडान गरिएको छ। बस्ती निर्माण गर्ने क्रममा उनले ६७ लाख ३६ हजार ६ सय २६ रुपैयाँ खर्च गरेका थिए।

सिन्धुपाल्चोकको गिरान्चौरमा धुर्मुसको सपना ठूलो छ। उनले ४ करोड ५० लाख रुपैयाँ खर्च गरेर नेपालकै नमूना बस्ती बनाउने काम थालेको ५ महिना भयो। यस काममा श्रीमति तथा चर्चित कलाकार कुन्जना घिमिरे 'सुन्तली' पनि धुर्मुस जत्तिकै खटेकी छिन्। गिरान्चौर एकिकृत नमुना बस्ती ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यो बस्ती अपाङ्ग, वातावरण र बालमैत्रि रहने धुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ।

'ग्रिन सिटी, क्लिन सिटी' नारा दिइएको यस बस्तीमा ६५ घरबाहेक ३ वटा चिल्ड्रेन पार्क, घण्टाघर र भ्यू टावर समेत हुनेछ। प्रत्येक घरको आगँनमा कम्तिमा दुईवटा वासनादार फूल तथा घर पछाडीको करेसामा फल दिने दुईवटा बिरुवा रोप्न स्थानीय सहमत छन्।  यस बस्तीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने धुर्मुसको लक्ष्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.