|

काभ्रेपलाञ्चोक : बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाले आएको बाढी र पहिरोले अरनिको राजमार्ग र बिपी राजमार्गको केही ठाउँमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा आवागमन ठप्प रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पूण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ। जसका कारण अरनिको राजमार्ग करिब तीन घण्टादेखि ठप्प रहेका शाहले जानकारी दिए। बाढीका कारण खोला छेउछाउका बजारक्षेत्रका घर, पसल र टहरा डुबानमा परेका छन्। बाढीले मानवीय क्षति नभए पनि यातायातका साधन चल्न सकेको छैन। सर्वसाधरण समेत आवतजावत गर्न नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गको तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ। ठाउँ–ठाउँमा सडक भासिने र माथिबाट झरेको ढिस्कोले सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायतका ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए।

खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित रोशीखोलाको बीचमा परेको दुई जना नागरिकको उद्धारका लागि प्रहरीको टोली खटाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.