|

 काठमाडौं : कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवसँग जापान र जर्मनीका राजदूतले छुट्टा-छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। नेपालका लागि जापानी राजदूत मासामिचि साइगो र जर्मन राजदूत रोलान्ड शेफरले छुट्टा-छुट्टै भेटवार्ता गरेका हुन्।

मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी समझदारीका विषयमा छलफल भएको छ। जापानी राजदूतसँगको छलफलमा मन्त्री खनालले नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताए।

भेटमा मन्त्री खनालले नेपाललाई आर्थिक रुपान्तरणमा लैजाने महान अभियान रहेको भन्दै त्यसका लागि कृषि एवं आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए। उनले कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खलामा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा जापान सरकारको सहयोगको अपेक्षा गरिएको बताए। 

जवाफमा राजदूत मासामिचिले नेपालसँग अर्गानिक खेती र प्रविधिको ज्ञान र सीप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताए। त्यस्तै जर्मन राजदूतसँगको भेटमा मन्त्री खनालले निक्कै लामो समयदेखि जर्मन सरकारसँग मित्रतापूर्ण सम्बन्ध रहेको भन्दै भविष्यमा पनि त्यो सम्बन्ध थप मजवुत हुने बताए।

पोष्ट हार्भेष्टिङ एवं कृषि प्रशोधन र भण्डारण तथा कृषि सडक सञ्चालमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा राखिएको मन्त्री खनालको भनाई छ। राजदूत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने एक सम्मेलनमा सहभागिताका लागि मन्त्रीलाई निमन्त्रणा समेत दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.