|

काठमाडाैं : सरकारले अबिरल वर्षासँगै आई पर्नसक्ने सम्पूर्ण विपद व्यवस्थापन तथा न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई गृहमन्त्रालयले निर्देशन दिएको छ।

बिहीबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन र न्यूनीकरणसँग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री रामबहादुर थापाले विपदको तत्काल सम्बोधन गर्ने गरी सम्पूर्ण रुपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

बैठकले विपद जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो। बैठकमा सहभागी विपद जोखिम न्यूनीकरण महाशाखाका सहसचिव केदारबहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसँग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय पनि भएको जानकारी दिए।

सरकारले विपद व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उनले जस्तो सुकै विपदका लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताए। मन्त्रालयले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी र पूर्व चेतावनीयुक्त सन्देश दिई सर्वसाधरणलाई सर्तक र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको जानकारी दिए। 

राहत सामग्री वितरणमा भने एकद्वार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ। मन्त्रालयले केन्द्रमा गृहमन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहमा जिल्ला विपद व्यवस्थापन समितिका प्रमुख प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरणमा सहयोग पुर्‍याउन तथा अनावश्यक चन्दा संकल गर्ने/गराउने काम नगर्न पनि आग्रह गरिएको छ।

केही दिन यता मुलुकका विभिन्न स्थानमा परेको अबिरल वर्षापछिको बाढी र पहिरोबाट मानवीय तथा भौतिक सम्पत्तिको क्षति हुनुको साथै जनजीवन प्रभावित भएको छ। गएरातिको बर्षाबाट भक्तपुरका अधिकांश स्थान डुबानमा पर्नुको साथै काभ्रे, बनेपा लगायतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। त्यसैगरी राजधानी बाहिरका पहाडी र तराईका जिल्ला पनि प्रभावित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.