|

दार्चुला : अन्तर्राष्ट्रिय स्लामिक संगठन (आइएसआई) ले दार्चुलामा आयोजना गरिएको नेपाल-भारतका अधिकारीहरूको बैठकमा समेत चर्चा पाएको छ। भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाका प्रमुख सी रविशंकरको नेतृत्वको टोली र दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको नेतृत्वको टोलीबीच भएको नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा आइएसआइ समेत छलफलको विषय बनेको हो।

भारतीय पक्षका तर्फबाट बैठकका लागि प्रस्ताव गरिएको एजेण्डा मै सीमा क्षेत्रमा आइएसआइका गतिविधिहरूमा बिचार बिमर्श राखिएपछि बैठकमा आइएसआईले स्थान पाएको हो। भारतीय पक्षले बैठकका लागि प्रस्तावित गरेको ११ एजेण्डाहरूमध्ये नक्कली नोटको प्रचलनमा रोक लगाउने र आइएसआईको गतिविधिलाई ५ नम्बरमा राखिएको थियो।

बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिदै पिथौरागढका जिल्ला अधिकारी रविशंकरले सीमा क्षेत्रमा आइएसआईको गतिविधि देखिन थालेकोले सीमा बैठकमा छलफलको विषय बनेको बताए। केही महिना पहिले पिथौरागढ मै आइएसआई क्रियाकलपासँग सम्बद्ध व्यक्तिलाई पक्राउ गरिएको बताउँदै यस्ता घटनाहरूमा समन्वय गर्न आइएसआईलाई पनि छलफलको विषय बनाइएको उनले बताए। पिथौरागढ जिल्लाको सीमा क्षेत्रको रुपमा रहेको बैतडी, दार्चुला र चीन तिब्बतको ताक्लाकोट क्षेत्रमा आइएसआईको गतिविधि नदेखिएको पनि उनले बताए। ‘भारत सरकारले नै यो मुद्दालाई विशेष रुपमा लिएको छ। त्यसैले पनि सीमा बैठकमा छलफल गर्नु परेको हो।’ पिथौरागढ जिल्ला प्रमुख रविशंकरको प्रतिक्रिया छ। 

के के विषयमा भयो छलफल ?

प्रस्ताव गरिएका एजेण्डा सँगै अन्य समसायिक विषयमा पनि बैठकमा छलफल भएको बैठकका एक सहभागिले जानकारी दिएका छन्। सीमा नदीमाथि निर्माण गरिन लागेको झोलुंगे पुल, खोतिल पहिरोको व्यवस्थापन र जिल्लाको उत्तरी क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरूसँग सुरक्षा साँझोदारी गर्ने विषयमा समेत बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। ‘नियमित समन्वय बैठक हो। स्थानीयस्तरमा देखिएका समस्याहरू समाधान गर्न केन्द्रलाई ताकेता गर्ने निर्णयहरू गरिएका छन्’ प्रजिअ आचार्यले भने।

धौलिगंगाको बाँध खोल्नु पर्दा नेपाललाई जानकारी गराउने र सीमा वारपार पर्यटकीय सम्भावना रहेकोले यस्तो पर्यटनलाई बढावा दिने सम्बन्धमा पनि बैठकमा छलफल भएको पिथौरागढका जिल्ला अधिकारी  रविशंकरले जानकारी दिए। ‘प्राकृतिक प्रकोपको बेला सीमावारि पारि दुबै ठाउँमा प्रकोपको असर पर्न सक्ने भएकाले प्राकृति प्रकोपको असरलाई कसरी संयुक्त रुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ।’ बैठकपछि पिथौरागढ जिल्ला अधिकारी रवीशंकरले भने।

के के थिए एजेण्डा ?

दार्चुलाको महाकाली नगरपालिका ५ मा रहेको शिखर होटेल २ मा आयोजना गरिएको उक्त बैठकमा नेपालका तर्फबाट १३ र भारतका तर्फबाट ११ एजेण्डाहरू राखिएका थिए। सीमा अपराध, खोतिला पहिरो, मानव बेचबिखन, अवैध समान, वन्यजन्तु, लागू औषध, जडिबुटी चोरी निकासी र दुई पक्षबीच समन्वय कायम गर्ने, सूचना आदान प्रदान गर्ने एजेण्डा हरूले साझा रुप लिएका थिए भने नेपालका तर्फबाट अघिल्लो बैठकको समीक्षा, सीमा सुरक्षाको वर्तमान अवस्था, विपद्मा खोज, उद्धार तथा राहत, धौलिगंगा बाँध खोल्ने, प्रस्तावित झोलुंगे पुलहरूको सहमति, नियमित समन्वय बैठक गर्ने र विविध विषय भनी एजेण्डा तय गरिएको थियो।

भारतीयतर्फबाट भने पारस्परिक सुरक्षाका विषयमा नक्कली नोटको चलन चल्तीमा रोक, सीमा क्षेत्रमा आइएसआईका गतिविधिमा बिचार विमर्श, सीमा क्षेत्रका पुलिस थानाअन्तर्गत कानुन व्यवस्थाको स्थितिको आँकलन र पारस्परिक सहभागिता, सीमा क्षेत्रमा एसएसबी र नेपाल प्रहरीबाट व्यापक गस्तीको प्रबन्ध धौलिगंगाको गेट खोल्ने विषयमा नेपाल सरकारलाई सूचना उपलब्ध गराउने र अन्य विषयहरू बैठकका एजेण्डाका रुपमा रहेका थिए।

को को थिए बैठकमा?

नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा भारतका तर्फबाट पिथौरागढका जिल्ला अधिकारी  रविशंकर, सशस्त्र सीमा बल ११ औं बाहिनी डिडिहाटका डिप्टिक कमाण्डेन्ट किसन यादव, लोक निर्माण विभाग पिथौरागढका अधिक्षण अभियन्ता हरिश पांगति, पिथौरागढ जिल्लाका पुलिअ अधिक्षक आरसी राजगुरु, धारचुलाका उपजिल्ला अधिकारी राजकुमार पाण्डेय, प्रभागीय वन अधिकारी डा. वियन भार्गव, सिंचाई अधिक्षक अभियन्ता पी. के. दीक्षित, सिंचाई विभागकै अधिशासी अभियन्ता ललित कुमार, लोक निर्माण विभाग अस्कोटका अधिशासी अभियान्ता दीपक गुप्ता, धौलिंगगा पावर स्टेसनका असिस्टेन्ट म्यानेजर बी सी जोशी, स्टेनसन कै सिभिल म्यानेजर बी.एच.डेम्पासहित ११ जनाको उपस्थिति रहेको थियो।

दार्चुला जिल्लाका प्रजिअ आचार्यको नेतृत्वमा बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, दार्चुला र बैतडीका प्रहरी नायब उपरीक्षकहरू नवराज अधिकारी र नेत्रमणि गिरी, सशस्त्र प्रहरी नायव उपरीक्षक अम्बिकाप्रशाद जोशी, दार्चुला र बैतडीका प्रमुख अनुसन्धान अधिकृतहरू बीरेन्द्रसिंह कार्मी र रमेशसिंह डागा, दुर्गादल गुल्मका सह सेनानी श्याम थपलियाको पनि उपस्थिति रहेको थियो।

नेपालका तर्फबाट भन्सार कार्यालय बैतडीका प्रमुख दिल्लीराज सुवेदी, जिल्ला वन अधिकारी संजय तिवारी, अपी नाम्पा संरक्षण प्रमुख भूमिराज उपाध्याय, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशिलचन्द्र देवकोटा, इन्जिनियर मदनराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र नायव सुब्बा चन्द्रसिंह धामीसहित १३ जना अधिकारीहरू बैठकमा उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.