|

विश्वकप फुटबलको फाइनल समीकरण पूरा भएको छ। मंगलबार फ्रान्सले बेल्जियमलाई १-० तथा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरे। योसँगै अब प्रतियोगितामा जुन टिमले जित निकाले पनि युरोपमै विश्वकप उपाधि रहने पक्का छ र त्यो पनि लगातार चौथोपटक।

विगत ३६ वर्षको इतिहास हेर्ने हो भने ४० मध्ये ३१ युरोपियन टिमले सेमिफाइनल पुगेका छन्। यो विश्वकपमा पनि सर्वाधिक गोल स्कोररमा १० मध्ये ८ युरोपियन छन्।

२००२ मा दक्षिण अमेरिकन राष्ट्र ब्राजिल च्याम्पियन बनेको थियो। त्यसपछिका ४ विश्वकप युरोपियन टिमका नाममा हुने निश्चित छ । २००६ मा इटाली, २०१० मा स्पेन र २०१४ मा जर्मनीले विश्वकप जितेका थिए। यो सिलसिला अब रुसमा पनि निरन्तर रहनेछ।

पछिल्लोपटक २ युरोपियन टिम सेमिफाइनलमा पुगेका थिए। १९८२ देखि अहिलेसम्म ४० टिमले अन्तिम ४ मा स्थान बनाएका छन्। यसमा ३१ राष्ट्र युरोपका रहेका छन्। २०१४ मा ब्राजीलमा भएको विश्वकपमा सेमिफाइनल पुग्ने दुई टिम (जर्मनी, नेदरल्यान्ड, युरोपियन थिए। दक्षिण अमेरिकन देशहरूमा अर्जेन्टिना र ब्राजिलले सेमिफाइनलमा स्थान बनाएका थिए। त्यसअघि २०१० मा तीन युरोपियन टिमले सेमिफाइनलमा स्थान बनाएका थिए। जसमा स्पेन, नेदरल्यान्ड र जर्मनी थिए। एकमात्र दक्षिण अमेरिकन देशका रूपमा उरुग्वे रहेको थियो।

पछिल्लो ३६ वर्षमा सेमिफाइनलमा पुग्ने ४० टिममा दक्षिण अमेरिकाका ८ टिम मात्र रहेका छन् भने एसियाको एकमात्र टिमले सेमिफाइनलमा स्थान बनाएको छ। अफ्रिकाको कुनैपनि टिम अहिलेसम्म सेमिफाइनल यात्रा तय गर्न सकेको छैन।

विश्वकपमा कुल ३२ मध्ये १४ टिम युरोपियन छन्। जुन कुल टिमको ४४ प्रतिशत हो। फिफा वरीयतामा शीर्ष ३२ मा २० राष्ट्र युरोपकै छन्। साथै यो विश्वकपमा प्रि क्वाटरमा प्रवेश गर्ने १६ मध्ये १० युरोपियन टिम रहेका थिए। जहाँ क्वाटरफाइनलमा ८ मध्ये ६ टिम युरोपका रहँदा सेमिफाइनलमा सबै ४ टिम युरोपियन बने। जारी विश्वकपमा अफ्रिकाका पाँच टिमले विश्वकपमा सहभागिता जनाएका थिए। तर सबैको समूहचरणमै यात्रा अन्त भयो।

एसियाका पनि पाँच टिमले विश्वकपमा सहभागिता जनाएका थिए। जसमा जापानबाहेक कुनैपनि टिम प्रिक्वाटरमा पुग्न सकेनन्। जसले गर्दा युरोपियन राष्ट्रको फुटबल वर्चस्व अझैपनि उत्कर्षमा रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.