नेपालको दार्शनिक विचारलाई विश्वमा फैलाऔँ : शताब्दी पुरुष जोशी

|
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी विकासको चरणमा गएको बताएका छन्। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको हिमवत खण्ड कला साहित्य सम्मिलन- २०७५ को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा भौतिक र कला साहित्य एवं संस्कृतिको विकास एवं प्रवर्द्धन गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले देशमा तीन तहको निर्वाचन भएर बहुमतसहितको सरकार निर्माणण भएको र राजनीतिक स्थायित्व भइसकेकाले अब तीव्र विकासमार्फत समृद्धि हासिल गर्नुपर्ने बताए। उनले सरकार अब जनताको सुखलाई केन्द्रमा राखेर अगाडि बढ्ने पनि बताए। उनले भने, 'जनताले राजनीतिक अधिकार प्राप्त गरेका छन् अब कडाइका साथ सुशासन र तीव्रताका साथ विकासमार्फत सुखी नेपाली समृद्ध नेपालको नारा पूरा गर्ने हो।'

केहीदिन अघि मात्र प्रधानमन्त्री ओली सबै मन्त्रीहरू र सचिवहरूसहित बृहत छलफल गरेर विकास र समृद्धिको खाका माग गरेका थिए। सोही छलफलपछि प्रधानमन्त्रीको कडाइका साथ सुशासन र तीव्र विकास गर्ने अभिव्यक्ति आएको हो। उनले सिन्डिकेट अन्त्यमा आनाकानी गरिरहेका निकायहरूलाई निर्देशन दिएर तत्काल हटाएर सबै यातायात समितिहरूलाई कम्पनीमा दर्ता गर्नबाट सरकारपछि नहट्ने बताएका छन्। उनले विकासका लागि सुशासन आवश्यक भएको र त्यसमा सरकार दायाँबायाँ नहुने प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै आएका छन्।

प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत देशमा परिवर्तन नचाहने र यथास्थितिमा राख्न चाहने शक्तिको पराजय भएकाले पनि अब विकास र समृद्धि सम्भव हुने बताए। देशमा रहेको स्रोत र साधन एवं नेपाली पौरख र मानसिक श्रेष्ठतालाई सदुपयोग गरेर समृद्धिको बाटो तय गर्ने बताए। उनले यसो भन्दा केही विद्वानहरूलाई समेत अनौठो लाग्ने भए पनि समृद्धिको अभियान पूरा गरेरै छाड्ने बताए।

'कुनै पनि देश धनी भएर विकास गरेका नभई विकास गरेर धनी भएका' भन्दै ओलीले अब नेपाल पनि विकास गरेर धनी हुने बताए। उनले गरिबीको रेखामुनि जनसंख्या रहेको अवस्थामा आर्थिक सर्वेक्षण र तथ्यांक देखाएर समृद्ध भएको भन्ने अवस्था नरहने बताए। उनले सबै नेपालीले खान पाउनुपर्ने, बालबालिकालाई पढाउन पाउनुपर्ने र बास एवं रोजगारी नहुन्जेलसम्म विकास र समृद्धि भएको नमानिने बताए। उनले नेपालमा सबै स्रोत साधन भएको र त्यसको सदुपयोग गरेर गरिबीको अन्त्य गर्ने बताए।

नेपालमा विकास र समृद्धि गर्न सहज रहेको उनको भनाइ थियो। यहाँका स्रोतको प्रयोग, युवा जनशक्ति एवं सहिष्णु जनता नै समृद्धिको सहायक बन्ने उनको भनाइ थियो। नेपालको ६० प्रतिशत जनशक्ति क्रियाशील रहेकाले पनि त्यसलाई काममा लगाएपछि विकासमा सहजता हुने उनको धारणा थियो।

प्रधानमन्त्री ओलीले नेपाल भाषा, सभ्यता, इतिहास, सम्पदामा समृद्ध भएको बताए। आदिकवि भानुभक्तको २०५औँ जन्मजयन्तिको अवसरमा सुरु भएको सम्मिलन तीन दिन चल्नेछ। सम्मिलनमा नेपाली भाषामा अध्ययन, अनुसन्धानमा संलग्न १३ देशका ४३  प्रतिनिधि रहेको बताइएको छ। जसमा नेपाल, भारत, चीन, जापान, बेलायत, अमेरिका, म्यानमार लगायतका देशका अध्येताहरूको सहभागिता रहेको छ।

नेपालको दार्शनिक विचारलाई विश्वमा फैलाऔँ

सताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको दार्शनिक पक्षलाई विश्वमा फैलाउनुपर्ने बताए। उनले नेपालले विश्वसँग भौतिक विकासमा प्रतिस्पर्धा गर्न नसा साहित्य र सम्पदा एवं दार्शनिक पक्षमा भने अगाडि रहेको बसाए। उनले भने, 'भौतिक क्षेत्रको विकासमा विश्वसँग प्रतिस्पर्धा गर्दा त हामीलाई गाह्रै पर्ला तर हामीसँग भएको दार्शनिक पक्षलाई संसारमा फैलाउने हो भने नेपाललाई विश्वमा चिनाउन सकिन्छ।' 

उनले नेपालमा कला एवं संस्कृतिका बारेमा अध्ययन अनुसन्धान हुन नसकेको बताए। उनले विभिन्न देशबाट आएका व्यक्तिहरूले नेपालको कला र सम्पदा एवं संस्कृतिमाथि अध्ययन, अनुसन्धान गरेर नाम कमाइरहेको बताए। उनले नेपालीले नै त्यस्ता अध्ययन अनुसन्धान गर्नसके थप कुरा संसारलाई दिन सकिने बताए। राज्यले नै यसमा ध्यान दिनुपर्ने जोशीको धारणा थियो।

त्यस्तै, साहित्यकार वैरागी काँइलाले नेपाली विविधतालाई गर्वका साथ लिनुपर्ने बताए। उनले नेपालमा विभिन्न भाषा भाषी रहेको र जातजाती रहेको एवं उनीहरूसँग धनको रुपमा संस्कृति रहेको बताए। जुन संस्कृति अन्य देशहरूसँग नभएको उनको भनाइ थियो। उनले सबै एक हुनुपर्ने भन्दापनि विविधतालाई शक्तिका रुपमा लिनसक्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.