|

सुर्खेत : कर्णाली प्रदेशका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूले अन्याेलमा काम गरिरहेको बताएका छन्। जनस्वास्थ्य कार्यालय रहने वा नरहने भन्ने जानकारी नहुँदा अन्याेलका बीचमा कर्मचारीले काम गरिरहेको बताएका हुन्।

सरकारले असार मसान्तपछि जिल्ला स्तरका केही कार्यालय खारेज गर्ने भने पनि अन्तिम निर्णय नपठाउदा कर्मचारीहरूले अन्याेलबीच काम गर्नु परेको हो।जिल्लामा रहेका स्वास्थ्यचौकी, शहरी स्वास्थ्य क्लिनिक, सामुदायिक स्वास्थ्य इकाइहरू यस अघि नै स्थानीय तहमा हस्तान्तरण भइसकेका छन्। स्थानीय तहहरूले स्वास्थ्यसम्बन्धी लागि नीति तथा कार्याक्रम बनाएर बजेट समेत विनियोजन गरिसकेका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालय के हुने भन्ने सरकारले हालसम्म कुनै जानकारी नदिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धीरजंग शाहले बताए।औपचारिक रुपमा जानकारी नआउँदा साउनपछि कसरी काम गर्ने भन्ने अन्याेल बढेको प्रमुख शाहको भनाई छ। ‘जनस्वास्थ्य कार्यालयबाट हुने दायित्व र जिम्मेवारी क्रमिक रुपमा घटेको छ’ उनले भने, ‘जिल्लामा अपेक्षाकृत कामहरू गर्न सकिएको छैन।’

यसअघि चैत्र २८ मै जिल्लास्थित अधिकांश कार्यालय खारेज गर्ने सरकारको निर्णय भए पनि कामकाज प्रभावित हुने भन्दै जिल्ला जनस्वास्थ्यलाई असार मसान्तसम्म काम गर्ने समय थप गरिएको थियो। यसैबीच सुर्खेतमा चालु आर्थिक वर्षमा कुष्ठरोगका १८, मलेरियाका ३५, एचआइभीका ३२ र क्षयरोगका करिब ५०० जना नयाँ विरामीहरू फेला परेको जिल्ला जनस्वास्थ्य कार्यलय सुर्खेतले जनाएको छ। यस्तै सात हजार बालबालिकालाई खोप लगाएको तथ्यांङ पनि कार्यालयले सार्वजनिक गरेको छ।

सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.