|

तनहुँ : पोखरा महानगरपालिका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेल तनहुँको भिमाद नगरपालिकास्थित सेती नदी किनारमा मृत अवस्थामा भेटिएका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६ सेती नदी किनारमा फेला परेको हो।

२१ दिनपछि भेटिएको शव फुलेको, गलेको र बिच्छिप्त अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ। ‘शनिबार बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शव भेटिएको, शवको अवस्था विक्षिप्त अवस्थामा रहेको इलाका प्रहरी कार्यालय भिमादका सई ज्ञानेन्द्र क्षेत्रीले बताए। उनले भने, ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका छन्।’

शव भेटिएको जानकारी पाउनेवित्तिकै परिवारका सदस्य तथा आफन्तहरु भीमाद पुगेका थिए। शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको क्षेत्रीले जानकारी दिए। असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ। बेपत्ता भएलगत्तै प्रहरीले पत्रकार सम्मेलन गरी पौडेल सेती नदीमा हाम फालेको र सोको बारेमा अनुसन्धान भइरहेको बताएको थियो।

पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी अनुसन्धानकै क्रममा रहेका कारण सेतीमा हाम फाल्नुको एकिन कारण भने आइनसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.