|

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा पुगेर आमरण अनसनमा बसेका प्रा डा गोविन्द केसीलाई  साँथ दिँदै उनको जीवनरक्षाका लागि माइतीघर मण्डलामा प्रदशन गरिएको छ।

दिउसो १२ बजे देखि शुरु भएको  प्रर्दशनमा  राजनीतिक दल, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी , पेशाकर्मी , गैरसरकारी संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्‍यालीमा साथ दिएका हुन्। सर्वसाधारणको पनि ठूलो उपस्थिति छ।

सो कायक्रमा बोल्दै पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले डा.गोविन्द केसीले विज्ञहरुकै टोलीले दिएको सुझाव अनुसारको प्रतिवेदनको आधारमा विधेयक ल्याउन माग गरेकाले सरकारले तत्काल माथेमा प्रतिवेदनको आधारमा विधेयक ल्याउनु पर्ने बताए।

उनले भने 'जुम्लामा पुगेर अनसन बसेका डा केसीले माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनु पर्ने बताउनुभएको हो। माग पुरा नहुँदासम्म उहाँलार्इ कसैले हल्लाउन सक्ने छैन। धेरैले केसीले भनेकै आधारमा विधेयक आउनु पर्छ र भन्नु भएको छ। तपाइँहरु यो बुझ्नुस् केसीले आफूले भने जस्तो हैन माथेमा प्रतिवेदनको आधारमा विधेयक आउनु पर्छ भन्नु भएको हो।'

यस्तै थापाले हाल केसीको स्वास्थय अवस्था  नाजुक रहेको अवस्थामा सरकारले जिद्दी गरेर बस्यो र डा. केसीको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र नभएर  सिंगो नेपाल अपराधबाट मुक्त हुन नसक्ने समेत बताए।

सांसद समेत रहेका थापाले काठमाडौंको जनसंख्या र यहाँ भएका मेडिकलहरुको संख्याको आधारमा अव काठमाडौंमा नयाँ मेडिकल कलेज नचाहिने समेत बताए। उनले भने ‘भो पुग्यो अब काठमाडौंमा थप मेडिकल कलेज चाहिँदैन, बंगलादेशमा थुप्रै मेडिकल कलेज खोलेपनि गुणस्तर नभएका कारण चिकित्सक देखेर डराउनुपर्ने अवस्था रहेको छ। थप नयाँ कलेज काठमाडौंमा खुले यहाँ पनि चिकित्सक देखेर डराउनु पर्ने हुन्छ मेडिकल कलेज खोल्नु भनेको पानी जहाज जस्तो होइन प्रधानमन्त्री ज्यू।'

यस्तै सो कार्यक्रमा बोल्दै बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीले हाल  संसदलाई नियन्त्रणमा लिन खोजेको समेत आरोप लगाए।

उनले भने 'लोकतन्त्र भनेको केहो र ? संसदको अधिकार बारे बुझ्नुहोस् कुनै पनि  कानुन बन्नुअघि ठिक छ कि छैन भनेर छलफल हुनुपर्छ। तर, तपाईंहरुले संसदलाई डिक्टेट गरिरहनुभएको छ।'

यस्तै सो कायक्रमा माथेमा आयोगका संयोजक प्राडा केदारभक्त माथेमाले  आफूहरुले  प्रतिवेदन तयार गर्दा चिकित्सा शिक्षाको गुणस्तर र चिकित्सा सेवाको गुणस्तरलाई ध्यान राख्ने तयारी प्रतिवेदन तयार पारेको बताए।

उनले भने 'हामीले यो प्रतिवेदनमा दुर्इ वटा कुरामा ध्यान दिएर प्रतिवेदन तयार गरेका हौँ, एक चिकित्सा शिक्षाको गुणस्तर, दुर्इ चिकित्सा सेवाको गुणस्तर माथि लौजानको लागि हामीले चिकित्सा शिक्षा र सेवामा भएको वेथितिलाई अन्त्य गर्न सहयोग गर्नू।'

आयोगका संयोजक प्राडा माथेमाले  काठमाडौं भित्र जनसंख्याको आधारमा मेडिकल कलेज धेरै भएकाले अब नयाँ मेडिकल कलेज खोल्न नहुने सुझाव आफूहरुले दिएको समेत बताए।

उनले भने ' काठमाडौं भित्र धेरै नै भइसको छ मेडिकल कलेज जति धेरै भो त्यतिनै धेरै अस्पताल हुन्छ। धेरै अस्पताल हुदाँ राम्रै भो जस्तो लाग्छ तर त्यस्तो हैन। धेरै अस्पताल भए विद्यार्थी पढाउन बिरामी पुग्दैन। विरामी भनेको चिकित्सा शिक्षा पढ्ने बिद्यार्थीको लागि ल्याव हो। जति धेरै बिरामी भए विद्यार्थी त्यति नै सिक्छन्। बिरामी नै नभएको ठाउँमा बिद्यार्थीले के सिक्छन्? त्यही भर हामीले  काठमाडौंमा नयाँ कलेज खोल्नु हुदैनौँ भनेका हौँ।'

चिकित्सा शिक्षा सुधारका लागि भन्दै गत १६ असार देखि जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था अनसनको १६ औँ दिन सम्म पुग्दा स्वास्थ्य  नाजुक बन्दै गएको बताइदै आइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.